नेपालमा जारी १३औं साफमा इतिहास रच्न सफल नेपाली जलपरी गौरिका सिंहको खेलको तारिफमा गीत लञ्च भएको छ। योगाज खड्काले आफ्नै शब्दमा तयार पारेको गीत उनकी छोरी तिलस्मीले गाएकी हुन्।
गौरिकाको नाममा सार्वजनिक भएको गीतको बोल ‘हिपहिप हुर्रे गौरिका’ छ। गौरिकाले हाल काठमाडौंमा आयोजना भइरहेको १३ औं सागअन्तर्गत २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिसकेकी छिन्।
उनी ३५ वर्ष लामो सागको इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्।
'अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीको हौसला बढाउने हिसाबले गौरिकालाई प्रतीक बनाएर यो गीत लेखेको थिएँ।अहिले गौरिका पनि दक्षिण एसियाली खेलकुदमा सहभगी भएकाले उपयुक्त हुने ठानेर गीत सार्वजनिक गरेको हुँ।'
- योगाज खड्का, गीतकार
उनको तारिफमा गीत बनाउनुको कारण खुलाउँदै योगाज खड्का भन्छन्, ‘गौरिका नेपाली खेलकुदलाई गौरान्वित गराउने खेलाडी हुन्। उनी लगायत अन्य खेलाडीलाई जारी सागमा उत्साहित बनाउन यो गीत रचेको हुँ।’
'अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीको हौसला बढाउने हिसाबले गौरिकालाई प्रतीक बनाएर यो गीत लेखेको थिएँ।अहिले गौरिका पनि दक्षिण एसियाली खेलकुदमा सहभगी भएकाले उपयुक्त हुने ठानेर गीत सार्वजनिक गरेको हुँ।'
व्यक्तिगत लगानीमा रेकर्ड गराएको गीत मंसिर ६ गते रिलिज गरिएको हो। गीत तिलस्मी खड्काले गाएकी हुन् । सञ्जय पाण्डेको निर्देशनमा बनेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भैसकेको छ ।
गायिका तिलस्मीले गोल्डेनगेट कलेजबाट कक्षा १२ को पढाई सिध्याएकी छिन् । संयोग नै भन्नुपर्छ यही कलेजका संस्थापक रमेश सिलवाल अहिले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हुन्।