नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको अध्यक्ष निर्वाचित भएका छन्। उनी अन्तर्राष्ट्रिय खेल संघमा मुख्य भूमिका पाउने नेपालको पहिलो खेल पदाधिकारी हुन्।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव स्वर्गीय शरदचन्द्र शाह ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को बरिष्ठ उपाध्यक्ष नियुक्त भएका थिए। यसअघि शाहबाहेक अन्य नेपाली खेल पदाधिकारी यति ठूलो भूमिकामा पुग्न सकेका थिएनन्।
‘अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको अध्यक्ष निर्वाचित हुन दुई कार्यकाल महासचिव वा उपाध्यक्ष हुनुपर्ने अनिवार्य सर्त थियो। फेरि मेरो कामको मूल्याकंन गर्दै सबैले नेतृत्व सुम्पिए,’ उनले भने।
उनले आफ्नो कार्यकालमा नेपालमा सफ्ट टेनिसको पूर्वाधार तथा विश्व च्याम्पियनसिप गराउने सोच आफ्नो रहेको जानकारी दिए। सफ्ट टेनिस जापानको चर्चित खेलमा पर्छ।
शनिबार सातदोबाटोमा बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै शाहले भने–‘शरदचन्द्र शाहकै पालामा २०४२ सालमा सफ्ट टेनिस संघ गठन भएको हो। उहाँले नै हुर्काएको संघको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रिय संघको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भए। यो अवसरमा म उहाँको आत्माको शान्तिको कामना गर्दछु।’