अत्तरियामा भाडा माझेर बसेका स्वर्ण पदकधारी म्याराथन धावक किरणसिंह बोगटीको संघर्षकथा (भिडियोसहित)

तस्बिरः बिएल नेपाली सेवा

उनले ४ वर्षको काखे हुँदै बुवालाई गुमाए। अभावका बीच आमाले निकै दुःख गरेर हुर्काइन। माओवादी जनयुद्धको कारण डोटीबाट बिस्थापित भएर कैलालीको अत्तरियामा आएर बस्नु पर्यो।

अत्तरियामा उनले केही समय भाडा माझेर जीवन बिताए। २०६१ सालमा सशस्त्र प्रहरीमा जागिर खादासम्म खेलसँग उनको कुनै साइनो थिएन। साथीहरूको लयलयमा लागेर उसु खेल्न सिके। बक्सिङमा पनि उनले हात नहालेका होइनन्। तर, उनलाई नेपाली खेलकुदको इतिहास रच्नु थियो।

त्यसैले उनी २०७३ सालमा एथलेटिक्समा समावेश भए। म्याराथनमा दौडिने उनको निर्णयप्रति धेरैले ब्यंग पनि गरेका थिए। ५ महिनाअघि नेपालगञ्जमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा उनी तेस्रो भएका थिए। उनलाई १३ औं सागमा बैकल्पिक खेलाडीको रूपमा क्लोज क्याम्पमा समावेश गरिएको थियो।

क्याम्पमा पनि उनलाई केही सिनियर खेलाडीले ‘म्याराथनको गोल्ड यसले जित्छ’ भनेर होच्चयाउने गर्थे। तर, उनले आफ्ना सिनियरलाई स्वर्ण जितेर मुखभरी जवाफ दिए।

आफूलाई औसत खेलाडी मान्ने किरणसिंह बोगटीले २४ वर्षपछि सागको म्याराथनतर्फको स्वर्ण घर भित्र्याएका हुन्। सन् १९९७ भारतको मद्रासमा भएको सातौं सागमा टिका बोगटीले नेपाललाई म्याराथनतर्फ स्वर्ण दिलाएपछि यो स्पर्धामा नेपाल स्वर्णबिहिन रहँदै आएको थियो।

‘म भित्र प्रतिभा लुकेको रहेछ। मलाई नै थाहा भएन। गुरुहरूले यसलाई प्रस्फुटित गराइदिनु भयो,’ बिएल नेपाली सेवासँग विशेष अन्तर्वार्तामा उनले भने–‘मैले जीवनमा नसोचेको सपना पुरा भयो। म निकै सन्तुष्ट छु।’

२०७३ सालको असोजमा उनी तेस्रो सशस्त्र प्रहरी महानिरीक्षक ट्रफीअन्तर्गत ५ र १० किलोमिटरमा भाग लिन उनी काठमाडौं आएका थिए। प्रतियोगिता खेलेर अत्तरिया फर्किने क्रममा असोज १८ मा उनको आमाको क्यान्सरबाट निधन भयो। यति बेला उनी आमालाई निकै ‘मिस’ गरिरहेका छन्। ‘मेरो लागि त सबै कुरा आमा हो। ४ वर्षमा बुवालाई गुमाएपछि आमाले हुर्काउनु भयो,’ आँखा रसाएका बोगटीले भने, ‘आमालाई स्वर्ण पदक देखाउन नपाएकोमा दुःखी छु।’

शनिबार म्याराथनतर्फको दौड सुरु हुँदासम्म अन्य खेलाडीलाई पत्यार लागेको थिएन, किरणले स्वर्ण जित्छन् भनेर। तर, उनले इतिहास रचेर देखाए। ‘मैले सबै कुरा प्राप्त गरे जस्तो लाग्छ। यसैका लागि मैले सशस्त्र प्रहरीको प्रमोशन परीक्षामा पनि भाग लिइन’, उनले भने, ‘मेरो परिश्रम भगवानले हेर्नुभयो।’

किरणसिंह बोगटीसँग बिएल नेपाली सेवाले लिएको भिडियो अन्तर्वार्ता यसप्रकार रहेको छः

प्रकाशित मिति: : 2019-12-08 16:26:44

प्रतिकृया दिनुहोस्