काठमाडौं । प्राध्यापक तथा लेखक वसन्त महर्जनको दुई पुस्तक विमोचन गरिएको छ।
लामो समयदेखि बौद्ध धर्म र दर्शनबारेमा कलम चलाउँदै आएका लेखक महर्जनको ‘बुद्ध र मानवअधिकार’ र ‘उत्तरी नेपालमा बौद्ध धर्म’ नामक पुस्तक शुक्रबार विमोचन गरिएको हो।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान, त्रिभुवन विश्वविद्यालय संस्कृतिक विभागका प्राध्यापक डा प्रेम खत्री र डा सुरेन्द्रमान बज्राचार्यले उक्त कृति विमोचन गरेका हुन्।
कार्यक्रममा प्रधानले पुस्तकले मानव अधिकारका चार विषयलाई समावेश गरेको बताए। ‘बुद्धको आदर्श र दर्शनबाट नै मानव अधिकारको घोषणापत्र तर्जुमा भएको उल्लेख छ’,उनले भने।
डा खत्रीले संस्कृति विधा कम लेखिने विधा भए पनि नयाँ पुस्ताका लागि बुद्ध धर्मको बारेमा ज्ञान हस्तान्तरण गर्न पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे। डा बज्राचार्यले पुस्तक बुद्ध दर्शन र विचारको बारेमा जान्न चाहनेका लागि दस्तावेज भएको बताए।
महर्जनले ‘बुद्ध र मानव अधिकार’ पुस्तकमा मानव अधिकार, बुद्ध र मानव अधिकारको व्यवस्था, बौद्ध नैतिकता र मानव अधिकारको विषय उठान गरेका छन्। ‘उत्तरी नेपालमा बौद्ध धर्म’ पुस्तकमा बौद्ध धर्मको इतिहास, तिब्बत्मा बौद्ध धर्मको विकास, बौद्ध सामाजिक जनजीवन, गुम्बा, गुम्बाको व्यवस्थापन, छोर्तेन, बौद्ध चाडपर्व र बौद्ध तीर्थस्थलको बारेमा लेखेका छन्।
महर्जनले यसअघि बौद्ध धर्मसम्बन्धी लुम्बिनीः ऐतिहासिक र पुरातात्विक अध्ययन, गौतमबुद्ध, बुद्धको आत्मकथा, गन्तव्य लुम्बिनी, बुद्ध र महिला, बुद्ध एक भ्रम अनेक, खस साम्राज्यमा बौद्ध धर्मको उत्थानलगायतका पुस्तक लेखिसकेका छन्। लेखक महर्जनले उत्तरी क्षेत्रमा आफै पुगेर अध्ययन गरी उक्त पुस्तक प्रकाशित गरेको बताए।