बलिउडका चर्चित गायक उदित नारायण झालाई विगत एक महिनादेखि लगातार ज्यान मार्ने धम्की आएपछि मुम्बई सरकारले सुरक्षाका लागि प्रहरी तैनाथ गरेको छ।
उदितलाई बिहारबाट नियमित धम्की आइरहेको मुम्बई प्रहरीले जनाएको छ। उदितले यो विषयलाई लिएर दुई साताअघि उजुरी दर्ता गराएका थिए।
प्रहरीले अहिलेसम्म धम्की दिने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। तर, उसले फोन बिहारबाट आइरहेको बताएको छ। ‘उदितलाई फोन गर्ने व्यक्तिले चोरीको नम्बर प्रयोग गरेको छ। फोन गर्ने स्थान पत्ता लागिसकेको छ,’ मुम्बई पुलिसले जानकारी दियो।
धम्की दिने व्यक्तिले हालसम्म पैसाको डिमान्ड नगरेको बताइएको छ। हिन्दुस्तान टाइम्सका अनुसार मुम्बई पुलिसको एउटा टिम बिहार गएर छानबीन गर्ने तयारीमा छ।
उदित हाल मुम्बईको पश्चिमी अन्धेरीमा बसोबास गर्छन्। उनले अन्बोली पुलिस थानामा उजुरी दर्ता गरेका थिए।
प्रहरीका अनुसार उदितलाई धम्की दिने व्यक्तिको फोन नम्बर सेक्युरिटी गार्डको नाममा दर्ता छ। फोन नम्बर भएको गार्डसँग सोधपुछ भइसकेको र उसले तीन महिनाअघि आफ्नो मोबाइल चोरी भएको बताएको थियो।