रहिनन् नेपाली कलाकारिताकी शुभद्रा दिदी

अलविदा शुभद्रा दिदी : तपाईको आत्मालाई चीर शान्ति मिलोस् । तस्बिर : फाइल ।

नेपाली कलाकारितामा शुभद्रा दिदी भनेर सम्मान गरिने शुभद्रा अधिकारीको नाम अगाडि स्वर्गीय लेख्नुपर्ने भएको छ । उनले शनिबार यो संसारलाई भौतिक रूपमा अलविदा भनेपछि यस्तो परिस्थिति  सिर्जना भएको हो । 

२००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले आफ्नो सिंगो जीवन कलाकारितामा लगाइन् । पाँच वर्षको उमेरमै सरस्वती सदनमा शास्त्रीय नृत्य गरेकी उनी एक सिद्धहस्त नृत्यकार त थिइन् नै, त्योभन्दा बढी एक चरित्र अभिनेत्रीका रूपमा उनको परिचय बन्यो ।

बासुदेब,चिनो, स्वर्ग, बादल पारि,बेहुली, कर्तब्य, माइतिघर , सम्झना, को आफ्नो को बिरानो ? लगायतका दर्जनौ चलचित्रमा अभिनय गरेकी शुभद्रा अधिकारी कलामा जति पोख्त थिइन्, त्यतिकै प्रष्टवक्ता पनि थिइन् । उनको यही कूटनीतिक नहुने बानीले उनी केही पछि परेको अनुभूति गर्थिन् ।

पछिल्लो पटक उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएपछि उनको एउटा ठूलो इच्छा पूरा भएको थियो । यसबाट उनले आफ्नो योगदानको सम्मान भएको ठानेकी थिइन् । शायद उनको जीवनको ठूलो सपना नै यही थियो । त्यही सपना पूरा भएको केही समयपछि नै शुभद्रा दिदीले अलविदा भनिन् । 

उनको निधनमा नेपाली कला क्षेत्र शोकमग्न भएको छ । उनको निधनमा कला क्षेत्रका सबै तह, तप्का र उमेर समुहका व्यक्ति व्यक्तित्वहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उनको निधनमा शोक व्यक्त गरेका छन् । उनका अनुसार आजै साँंझ आर्यघाटको उनको दाहसंस्कार गरिने छ । दाहसंस्कारअघि आर्यघाटमै श्रद्धाञ्जलि समाराेहको आयोजना गरिने छ । 

 

प्रकाशित मिति: : 2019-08-17 11:44:11

प्रतिकृया दिनुहोस्