इतिहासकार योगेश राजको उपन्यास ‘रणहार’ले यस वर्षको मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीले आइतबार राजलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।
विसं २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालका जनरल भीमसेन थापा तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई दिइएको थियो।
इतिहासकार योगेश राजको उपन्यास ‘रणहार’ भक्तपुरका अन्तिम मल्लकालीन राजा रणजित मल्लको जीवनीसँग सम्बन्धित छ ।
यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वैरागी काइँलालाई ‘लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धानतथा अभिलेखीकरण गरी नेपाली वाङमयको समृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै जगदम्बा–श्री पुरस्कार प्रदान गरिने भएको छ।
२०४५ सालमा जगदम्बा रानीको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार, यस वर्ष गुठीमा प्राप्त २५७ पुस्तकहरू मध्येबाट सात पुस्तक एकादेशमा, ओक्कल दोक्कल पिपल पात, ज्ञ, फातसुङ, मरीचिका, रणहार तथा विचारको लाश पुरस्कार २०७५ का निम्ति छनोटमा परेका थिए।
पुरस्कृत प्रत्येक स्रष्टाले चार\चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कार राशि यसै वर्षदेखि दोब्बर गरी चार\चार लाख बनाइएको गुठीले जनाएको छ।