पोखरामा बसेर कविता लेख्दै आएका मजदुर कवि इन्द्र राना ‘प्रतिक’को जीवनमा चाँडै खुसीको बहार आउँदैछ । उनको एकल कविता वाचनका साथै कविताकृति प्रकाशनको तयारी भैरहेको छ ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा उनको जीवनकै पहिलो एकल कविता वाचन कार्यक्रमका साथमा उनको कविता कृति ‘रङहरूको इन्द्रेणी’ सार्बजनिक गर्दैछ ।
कन्सेप्ट नेपालका संयोजक पवन शाक्यका अनुसार कवि प्रतिकलाई तिहार अगाडि काठमाडौं निम्त्याएर एकल वाचन कार्यक्रम गरिनेछ । कन्सेप्ट नेपालले मनकारी साहित्यप्रेमीको सहयोग बटुलेर पुस्तक प्रकाशन र कार्यक्रम गर्नेछ ।
याे पनि हेर्नुहाेस।
यतिवेला पोखराका कविद्वय संजीव पौडेल र सूरज उपाध्याय प्रतीकका कविता सम्पादन गर्दैछन् । ‘सम्पादित पाण्डुलिपि प्राप्त हुनासाथ हामी पुस्तक प्रकाशन गर्नेछौं’, शाक्यले भन्छन्, ‘हाम्रो कार्यक्रमले उनको जीवनमा खुसीको बहार ल्याउने छ ।’
गरिब, दुःखीका कथा लेख्दै आएका प्रतीक श्रमजीवि कवि हुन् । पुख्र्यौली थलो स्याङ्जा भएका उनी पोखराको डेरामा बस्छन् । बिहान–बेलुकीको छाक टार्न मजदुरी गर्छन् । उनी घरका भित्तामा सिमेन्ट प्लाष्टर गर्ने, रंग पोत्ने लगायत काम गर्छन् ।
कन्सेप्ट नेपालले यस अघि गएको फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल डेउडा गायन गरेर उनलाई एक दशकपछि गायनमा पुनरागमन गराएको थियो ।
याे पनि हेर्नुहाेस।
लोकगायिका बादीको कार्यक्रम र कवि प्रतीकको कार्यक्रम दुबैको संयोजक पत्रकार अमृत भादगाउँले हुन् । ‘हामी बर्सेनी एकजना यस्तै प्रतिभाशाली स्रष्टाको कार्यक्रम गर्नेछौं’, भादगाउँले भन्छन्, ‘गुमनाम भुइँमान्छेलाई यसरी बाहिर ल्याउँदा हामीलाई आत्मसंतुष्टि मिल्छ ।’
कन्सेप्ट नेपाल साहित्यिक पर्यटन प्रवद्र्धनमा पनि सक्रिय छ । उसले पोहोर ‘खप्तड काव्ययात्रा–२०७५’ र यसपाली ‘फोक्सुन्डो काव्ययात्रा २०७६’ आयोजना गरि लेखकहरूलाई घुमाएको थियो ।