‘बीपी कोइरालाको डायरी’ सार्वजनिक

तस्बिरः बिएल

बीपी कोइरालाले २००८ देखि २०१३ सालसम्म लेखेको पुस्तक ‘बीपी कोइरालाको डायरी’ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र शशांक कोइराला, नरहरि आचार्य, प्रा.डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा. शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा सङ्कलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहमा बैल्दै अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा बीपीबाट धेरै सिक्ने अवसर पाएको बताए। बीपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रुपमा मात्र चिनेकोमा उहाँसित चित्रकारिताको पनि अपूर्ण ज्ञान रहेको डायरी पढ्दा पाएको बताए।

यसैगरी पुस्तक माथि बोल्दै प्रा.डा. शेखर कोइराले यो पुस्तक डायरी मात्र नभएर युवा पिडीका लागि संघर्षको अभिलेख रहेको बताए।

यस्तै नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले बीपी कोइरालाको डायरी आफूले तीन पटकसम्म पढिसक्दा पनि अझै चित्त बुझेको छैन फेरि पढौँ पढौँ लागिरहेको छ र फेरि पनि पढ्छु भन्दै यस डायरी नेपाली पाठकहरुका लागि बिलकुलै नयाँ विषय र प्रस्तुति रहेको बताए।

भावुक मुद्रामा बाबासँगको आफ्नो संस्मरण सुनाउँदै नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र प्रा.डा. शशांक कोइरालाले यस पुस्तकले बीपी अध्ययन गर्न चाहनेहरु र साहित्य, चित्रकारिता बुझ्न चाहनेहरुका लागि अत्यन्तै महत्वपूर्ण र सहज रहेको बताए।

उक्त कार्यक्रममा डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तक लोकतन्त्र र समाजवादको परिचर्चा भएको थियो। कार्यक्रम प्रकाशक शिखा बुक्सको आयोजना गरेको थियो । बीपी कोइरालाको डायरीको मूल्य ३५०/–, लोकतन्त्र र समाजवादको मूल्य रु. ३७५/– र नेपाली कांग्रेसको इतिहासको प्रारुपको मूल्य रु. ९९५/– रहेको छ ।

प्रकाशित मिति: : 2019-09-09 10:14:01

प्रतिकृया दिनुहोस्