जस्तो स्वरूपमा उत्रियो त्यही स्वरुपमा न्याय गर्छन्। जुन पात्रमा खेल्छन् त्यही पात्रलाई पूर्णता दिन्छन्। प्राय उनको नृत्य हेरेपछि मुखबाट वाह! वाह!! ननिस्कने सायदै हुन्छन् होला।
देवुबाट देवी बन्दा वास्तवमा उनलाई कसैले चिन्दैनन्। एकटक लगाएर उनलाई हेरिरहन्छन् जो कोही पनि। उनले मेचीदेखि महाकालीसम्मका कला संस्कृतिलाई निकै राम्रोसँग दर्शकमाझ पस्कन्छन्।
उनको नाम आउने बित्तिकै जोडिन्छ सुदूरपश्चिम अनि सुदूरपश्चिमको कैलाली। पाँच दाजुभाइ र एक दिदी। आमा रत्ना देवी वोरा र बुबा बहादुर सिंह वोराका कान्छा छोरा। जव उनी पाँच महिनाका थिए उनको बुवाको मृत्यु भयो। उनी पाँच वर्षको हुँदा दिदी रिताले बजाएको मादलुको तालले उनका पाइला थरथराएका थिए।
भाइलाई फकाउनको लागि दिदीले बजाएको मादलुको ताल भोलि देवुको जीवनको डोरी नै बन्छ भन्ने सायद थाहा पनि थिएन होला।
देवु सानैदेखि सबैको नजरमा पर्न थालिसकेका थिए। कैलालीमा छँदा उनी आफू नृत्य गर्नुका साथै ११,१२ वर्षकै उमेरदेखि विद्यालयमा नृत्य सिकाउने गर्थे।
आफ्नै गाँउमा क्लव बनाएर सुदूरपश्चिमको कला संस्कृति जगेर्ना गर्ने तर्फ अग्रसर भइसकेका थिए।
विस २०५७ सालतिर उनी साँस्कृतिक कार्यक्रममा डोटी पुगेका थिए। त्यहाँ काठमाडौंबाट पनि केही व्यक्ति गएका थिए। जसमा निर शाह, डा.तुलसी भट्टराईलगायतका व्यक्तिको उपस्थिति थियो।
भर्खरैको केटोको नृत्य देखेर निर शाह चकित परे। उनले देवुलाई तिमी जस्तो मान्छे काठमाडौंमा हुनुपर्छ भनेर निम्तो र आश्वासन दुबै दिए। देवुले पत्याएनन्।
त्यसको केही समयपछि देवुले सुदूरपश्चिमदेखि कर्णाली तरेर काठमाडौं सम्मको यात्रा तय गरे। काठमाडौं पुगेपछि उनले प्रज्ञा प्रतिष्ठानमा पुगेर निर शाहलाई भेटे।
त्यसपछि देवुको जीवनमा नजानिँदो तरिकाले नयाँ मोड आयो। जीवनको यो नयाँ मोड ल्याउने श्रेय अहिले पनि देवुले निर शाहलाई दिन्छन्।
सुदूरको केटो प्रज्ञामा पुग्नु उनका लागि कम चुनौती थिएन। कला संस्कृतिका पारखीबिचमा उनलाई यसले के गर्न सक्छ र? भन्ने सोच धेरैमा थियो। कतिले त मलाई सोर्सफोर्समा आएको भनेर हेप्थ्ये पनि। देवु अहिले पनि सम्झन्छन्। यद्यपी देवुले आफू कसैको पावरमा आएको नभएर कलाले गर्दा यहाँ पुगेको भन्दै केही गरेर देखाउने अठोट गरे।
त्यसपछिका दिनहरुमा जव देवुले सुदूरको हुड्केली, थारू नृत्य र ठाडी भाकामा समेत नाच्न थाले। उनको नृत्य शैलीदेखि लिएर त्यो मौलिक पहिरनलेसमेत वाह् वाह् पाउन थाल्यो। काठमाडौंमा कुनै कार्यक्रम हुँदा सुपबाट सम्झिनु पनेमा देवु पर्न थाले।
नृत्यमा सिङ्गो सुदूरपश्चिमको प्रतिनिधित्व गर्न थाले। विद्यालयदेखि सांस्कृतिक कार्यक्रमहरुमा देवु पुग्न थाले। सुदूरपश्चिमका कला संस्कृतिलाई काठमाडौमा चिनाउने श्रेय देवु वोरालाई धेरै जान्छ।
यस्तै क्रममा देवुले विभिन्न झाकीको कार्यक्रममा न्यूरोडदेखि तत्कालिन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म छलिया नृत्य गर्दै पुगेका छन्।
देवुले सम्झदै भने, ‘तातो सडकमा नाङ्गो खुट्टाले नाच्दा त पुरै ठेला उठ्यो।’
यति मात्र होइन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नृत्यहरुमा देवु पोख्त नै छन्। देवु जहिले पनि सूदूरपश्चिमका कला संस्कृतिलाई अगाडि बढाउने सोचमा हुन्छन्। उनी सुदूरपश्चिमको ठाडी भाकामा नृत्य गर्ने पहिलो व्यक्ति हुन्।
‘ठाडी भाका स्लो मोसनमा भएकाले यस्ता गीतमा नृत्य गर्न निकै चुनौती हुन्छ’, वोराले भने।
पोखरा जाँदा होस् वा कोरिया, जापान होस् या सिंगापुर जहाँ गए पनि देवुको नृत्य हेर्ने धेरै जना चकित पर्थ्र्ये।
कोरियामा ४५ राष्ट्रहरूको नृत्य प्रतिस्पर्धामा त देवुले गोल्ड मेडल नै पाएका थिए। देवीको हाउभाव, पहिरनले गर्दा उनी सधै क्यामेराको अगाडि पर्छन्।
देवुको २०६३ सालमा जुमनासँग प्रेम विवाह भएको थियो। जमुना कन्या क्याम्पसमा पढ्दा देवु प्रज्ञामा काम गर्थे। जमुनालाई पनि कलाप्रति निकै रूची थियो। काठमाडौ आएकै वर्ष जुमना एउटा नाटकको मुख्य पात्र अर्थात हिरोइन थिइन्। देवु पनि त्यही कार्यक्रममा पुगेका थिए। जमुनासँग पहिलो नजरमै आँखा जुध्यो। त्यसपछि उनीहरुको भेटघाट बाक्लिँदै गयो।
‘जमुना मलाई भेट्न कहिल्यै पनि एक्लै आइनन्। जहिले आउँदा पनि उनी आफ्ना साथीहरूको हुलमा आउँथिन्,’ उनले विगत सम्झिए,‘उनीहरुलाई देखेपछि प्रज्ञाका स्टाफले ऊ हरियो सारीको हुल आयो। देवु जाऊ लेक्चर दिएर आऊ भन्थे।’
यत्ति भन्दै गर्दा देवुले लामो खित्का छाडे। देवुलाई जमुनाको साथ र सहयोग छ। उनीहरूका दुई छोरा छन्।
छोरा हुर्काउन जमुना व्यस्त भएकाले पनि उनले आफ्नो कलातिर ध्यान दिन सकिरहेकी छैनन्। तर पनि देवुलाई निकै सघाइरहेकी हुन्छिन्।
देवु नृत्य गर्दा देवी अर्थात् महिलाको रुपमा पनि निकै आर्कर्षित देखिन्छन्। देवु महिला बनेको बेला केटा हो भनेर कसैले पत्याउँदैन्।
यस्तो रुपलाई तयार पार्न जमुनाले नै सघाउँछिन्। कहिलेकाँही जमुनाले नभ्याएको बेला देवु आफैं पनि तयार हुने गर्छन्। देवुलाई पहिरनमा जतिले चिन्छन्। पहिरन नलगाएको बेला खासै चिन्दैनन्।
एकपटक प्रज्ञा प्रतिष्ठानमा हुँदा गाइजात्रा कार्यक्रममा शम्भुजित बाँस्कोटा र गौरी मल्लको अन्तर्वार्ता चलिरहेको दृष्य थियो। त्यसमा देवुलाई एयर होस्टेज र पाइलट बन्ने भनेको थियो। ‘मैले केही मेकअप गरेको थिइनँ। एयर होस्टेजको गेटअपमा के आएको थिएँ। ओहो कति राम्री केटी! को आइछ भनेर गाइगुइ चल्यो’, त्यो बेलाको रमाइलो उनले सम्झिए।
केही दिन अघि डिक्रा देवीको ठाडी भाकाको लागि नृत्य गर्न देवु महिलाको रुपमा थिए। उनले आफ्नो नृत्य केन्द्रबाट श्रीमतीसहित ट्याक्सीमा चढेछन्। ट्याक्सीवालाले एक टक लगाएर हेरिरह्यो। अन्तिममा कति भयो भाँडा भनेर सोध्दा त ट्याक्सीवाला नै चकित परेर भनेछन्– मैले त तपाईंलाई कस्तो राम्री केटी भनेर पो हेरिरहेको थिएँ।
देवु र उनकी श्रीमती जमुनाको सपना पछि सुदूरपश्चिममै गएर त्यहाँको कला संस्कृतिलाई जगेर्ना गर्ने छ। ‘अहिले हाम्रो सुदूरपश्चिममा केही कार्यक्रम हुँदा पनि हाम्रो कलालाई ध्यानमा राखिदैन। अहिले सुदूरपश्चिमको छलिया, हुड्के, थारु नृत्यमा धेरैले ध्यान दिएका छैनन्। लोप नै हुने अवस्थामा पुगेका छन्’, देवुले गुनासो गरे।
यसमा हामीले ध्यान दिनुपर्ने र यसलाई संरक्षण गर्नुपर्ने छ भन्दै एकछिन गम्भीर मुद्रमा देखिए।
देवुको आज बुधबार काठमाडौंको प्रभा भवनमै ‘देवु वोराको एकल नृत्य साँझ’ आयोजना हुँदैछ। यसको चाँजोपाँचो हिमाल डेन्टल हस्पिटलले मिलाएको छ।
यो पनि हेर्नुहोस्