तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक

कवि तीर्थ श्रेष्ठकाे कविता स‌ंग्रहकाे विमाेचनमा कार्टुनिष्ट दुर्गा बराल। बिएल ।

कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको सँग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन्। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा असाेज १० शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो।

कुनैबेला तरलवादको नामले चिनिएको साहित्यिक अभियानमा लागेका कवि तीर्थ श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन्। यसपालिको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रीत भएको थियो। कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए। संगीत र साहित्यको संगमले गर्दा उनको पुस्तक विमोचन कार्यक्रम चलनचल्तिका पुस्तक विमोचनभन्दा पृथक देखिन्थ्यो।

पारस खड्काको पहिलो टी ट्वान्टी सतकमा सिंगापुरविरूद्ध नेपालको सानदार जित

कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमीसँग सम्बन्धित गीतबाट भएको थियो। 'मेरै हिमाल जस्तो हेरिरहूँ पोखरा' बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए। कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरेका थिए। केही वर्षअघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्र मध्येका हुन्।

कार्यक्रमको दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता 'नाम' सुनाइएको थियो। 'हामीले लेखेर आएका छौं, हिउँमा आ-आफ्ना नामहरू'लाई संगीतकार आभासले धुन भरेका हुन्। गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी संचालक आभास रोचक संवादका साथ प्रस्तुत भएका थिए।

तेस्रो गीत पनि आभासकै धुनको 'तिमी मात्र आफ्नो भयौ' रहेको थियो। कवि तीर्थले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको सस्मरण सुनाए। 'सपनामा मन पर्ने मान्छे देखियो भने ब्यूँझनासाथ सिरानी उल्टाउनु भन्छन्। त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे! मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ।' तीर्थले गीत सृजनाको अन्तरकथा भन्दै, त्यस गीतसँग प्रसंग जोडिएको मुक्तक सुनाएका थिए।

१५७ दिनमा ८ हजार मिटर माथिका १३ हिमाल आरोहण गरेका निर्मल पुर्जाको सरकारलाई आग्रह

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए। उनले कविता सुनाउने क्रममा तिनको रचनागर्भको पनि चर्चा गरेका थिए। उनले 'लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु' र 'बाघ' जस्ता चर्चित कविता सुनाउँदा दर्शकहरूले बजाएको तालीबाट उनका कविताको सम्प्रेण अनुमान गर्न सकिन्थ्यो।

पुराना कविता वाचनको लगत्तै कवि तीर्थको नयाँ कवितासँग्रह 'धर्सैधर्साको चक्रव्यूह' र उनको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निवन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए। 

'तीर्थ श्रेष्ठ अथवा तीर्थ दाइ सरल भाषामा गहिरो कुरा भन्ने सामर्थ्य भएका कवि हुनुहुन्छ' निबन्धकार रोशनले टिप्पणीका क्रममा भने- 'तीर्थ श्रेष्ठका कवितामा रहेको जीवन दर्शनले हाम्रो भित्री मनलाई सहजै स्पर्श गर्छ। उहाँले लेखेको ‘हिउँमा लेखेका नाम' प्रथम पल्ट पढ्दा मेरो मन साहित्यिक आनन्दले आल्हादित भएको थियो। त्यो कविता भित्र समेटिएको भावले जीवनप्रतिको सोचलाई वुद्धत्वतर्फ लैजान्छ। तीर्थ दाइको नयाँ सँग्रहमा पनि त्यत्तिकै गम्भीर भावका सरल कविताहरू संकलित छन्। म उहाँलाई शुभकामना व्यक्त गर्छु।‘ साहित्यकार रोशनले 'धर्सैधर्साको चक्रव्यूह'मा सँग्रहित ‘निर्वाणको यात्रा’ कविता वाचनका साथ आफ्नो मन्तव्य टुंग्याएका थिए।

अमेरिकामा आइसले फेरि मार्यो छापा : टेक्सासबाट ४५ र कोलोराडोबाट ४२ पक्राउ

त्यसपछि 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरिएको थियो । कवि तीर्थले दर्शकदीर्घामा उपस्थित मध्ये आफ्ना अग्रज कलाकार दुर्गा बराल ‘वात्सायन’लाई पुस्तक उपहार दिएर कृति सार्वजनिक भएको उद्घोष गरेका थिए। विमोचनकै क्रममा कवि तीर्थ भन्दै थिए- ‘आजै दिउँसो राष्ट्रकवि आदरणीय माधव घिमिरेका हातमा पनि यही पुस्तक उपहार दिने अवसर पाएको थिएँ। त्यो पुस्तक विमोचनको प्रथम चरण थियो। अहिले दु:खसुखका मेरा मार्गदर्शक आदरणीय दुर्गा दाइलाई पुस्तक हातमा सुम्पने अवसर पाएँ। पुस्तक लोकार्पणका यी क्षण मेरो जीवनकै अविस्मरणीय क्षणहरू हुन्।‘ 

कवि तीर्थको नयाँ कवितासँग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन्।

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो । कवि तीर्थको नयाँ कवितासँग्रहमा उनका १०८ वटा कविताहरू संलग्न रहेका छन्। पब्लिकेसन्स नेपालयले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै कवि तीर्थले सँग्रहमा संकलित कविता मध्येबाट केही कविताहरू वाचन गरेर सुनाए। उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए।

कार्यक्रमको अन्तिम चरण फेरि सांगीतिक प्रस्तुतितर्फ मोडिएको थियो । तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन् । ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए । पोखरेली संगीतकार सुमन श्रापितले धुन भरेको ‘पाइला पाइला’पछि ‘रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा’बाट कार्यक्रम समापन भएको थियो । कार्यक्रमको अन्तिम गीत गायक फत्तेमानकै स्वरमा रेकर्ड भएको गीत थियो । यो गीतमा समाजमा रहेको छुवाछुतप्रति कटाक्ष अंकित छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विकासको एजेन्डामा दौडेला नेपाल?

तीर्थ श्रेष्ठको पलेँटीमा प्रस्तुत भएका सबै गीतलाई मीना निरौला र योगेन्द्र उपाध्यायले स्वर दिएका थिए । वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

अँग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटी शनिबार र आइतबार पनि हुँदैछ । बाँकी दुई दिनका पलेँटी पनि संगीत र साहित्यमै केन्द्रित रहेको कुरा आयोजक संस्थाले जानकारी गराएको छ । ११ गते शनिबार साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन् । संगीत र कविताकै माहोलमा रिजालको संस्मरण ‘काँडामा हासेको जिन्दगी’ सार्वजनिक हुने भएको छ । १२ गते आइतबार साँझको पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन् । पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिनेछ ।

 

प्रकाशित मिति: : 2019-09-28 20:42:23

प्रतिकृया दिनुहोस्