औधोगिक नगरी वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ। चलचित्र निर्माता संघको आयोजनामा भइरहेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।
निर्माता संघका अनुसार चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको हो। महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा भेला भएका छन्।
महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरु प्रभातफेरिमा सहभागी भएका थिए । घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो।प्रभातफेरीमा वरिष्ठ कलाकारहरू निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौलालगायतले सहभागीता जनाएका थिए।
आजबाट चार दिनसम्म चल्ने महोत्सवमा राष्ट्रपति भण्डारीसँगै समारोहमा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानि राणालगायतको उपस्थिति रहेको थियो।