कर्णाली आर्ट सेन्टर मुगुले सन् २०१८ को पहिलो महिनाबाट बालबालिकाको गैरकानुनी तवरबाट हुने ओसार पससार र बेचबिखन विरुद्ध जनचेतनामुलक सडक नाटक सञ्चालन गर्दै आइरहेको छ। पछिल्लो समय सडक नाटकको प्रभाव राम्रो देखिन थालेको छ।
त्यसैको परिणाम बुधबार मुगुका ९ जना बालबालिकाहरुलाई काठमाडौंको एक गैरकानुनी बाल गृहबाट उद्दार गरि परिवारसँग पुनर्मिलन गराइएको छ।
नेक्स्ट जेनेरेसन नेपाल (एनजिएन), साझा सवालका लागि साझा मञ्च (कोकान), राष्ट्रिय बाल अधिकार परिषद र कर्णाली सामुदायिक विकास केन्द्रको संयुक्त प्रयासमा बालबालिकाको उद्दार गरिएको कर्णाली आर्ट सेन्टरका अध्यक्ष हिरा बिजुली नेपालीले जानकारी दिए।
कर्णाली आर्ट सेन्टर मुगुले नेक्स्ट जेनेरेसन नेपाल काठमाडौं र कर्णाली सामुदायिक विकास केन्द्रसँगको स्थानीय साझेदारीमा सन् २०१८ देखि मुगुका ग्रामिण बस्तीहरुमा गैरकानुनी रुपले हुने बालबालिकाको ओसार पोसार तथा बालबालिका बेचबिखन विरुद्व जनचेतनामुलक सडक नाटक प्रर्दशन गर्दै आइरहेको छ।
मुगुमा बालाबालिकाको गैकानुनी रुपमा ओसारपसार उच्च छ। यसरी बालबालीका ओसारपसारमा नातेदारहरु बढी प्रयोग भैरहेका छन्। ‘नजिकैका दलालहरुबाट बालबालिकाहरु असुरक्षित छन्। काका काकी, मामा माइजु, फूपु फूपाजु लगायतका नातेदहरु नै दलालको रूप धारण गरि आउने,रहेछन्,’ नेपालीले भने, ‘हामीले ४० ठाउँमा नाटक पर्दशन गर्ने क्रममा धेरै अभिभावकहरु भेट्यौं। बालबालिका पठाएका अभिभावकसँग पनि कुराकानी भयो। हिजो मात्रै उद्दार भएका बालबालिकाका आमाबुबासँग दलालहरुले बाटो खर्चको नाममा एक एक लाख लिएका रहेछन्। यो गम्भिर समस्या हो।’
मुगुमा बालबालिकाको गैरकानुनी ओसारपसारको दर उच्च रहेको हुनालो आफूहरुले सडक नाटकको माध्यमबाट जनचेतना फैलाउने अभिभावकहरुसँग भेट्ने र उनीहरुका बच्चाहरु कसैले विभिन्न बाहानामा लिएका छन्, छैनन् बुझ्ने र सूचनाको आधारमा बालबालिकाको उद्दारमा जुट्ने गरेको उनले बताए।
सडक नाटकको क्रम सन् २०२० सम्म चल्ने छ। हालसम्म सम्म झण्डै ४० ओटा प्रर्दशन भैसककेका छन्। भने यसलाई सयवटा पुर्याउने कार्यक्रम छ। नाटकको प्रभावले मुगुमा दलालका भ्रममा परेर सहरमा गैरकानुनी रुपमा संचालन भैरहेका बाल गृहहरुबाट कयौं बालबालिकाहरुको उद्वार भएको छ। ओसारपसार पनि घटेको छ।
पछिल्लो समय अभिभावकहरुको चेतनास्तर बढ्दै गएकाले जिल्लामा बालबालिकाको ओसारपसार झण्डै आधाजतिले घटेको छ। नाटक प्रदर्शनपछि गाउँलेहरुसँग गरिएको अन्तरक्रियमामा धेरैले आफूहरु सचेत भएको बताउने गरेका छन् भने पीडितहरुका घरमा रुवाबासी नै चलिरहेको हुन्छ। उनीहरु भन्छन्, ‘हामी अब हाम्रा छोराछोरालाई काहिल्यै, कुनै आश्वासनको भरमा पठाउने छैनौं।’