उनलाई सानैदेखि नृत्यमा निकै रुचि थियो। सानोमा गाउँमा मेला भर्न जाँदा उनी आफ्नो नृत्यले गाउँलेलाई लट्ठ बनाउँथे। उनले नेपालमा ‘डान्स क्लब’ पनि चलाए। हाल मायानगरी मुम्बईमा नृत्य निर्देशनको काम गरिरहेका छन्।
रमेश बिजुली बिसी। नाम जस्तै नृत्यमा बिजुलीको झट्का दिन माहिर मानिन्छन्। १३ वर्ष भयो उनले मुम्बईमा नृत्य निर्देशन गर्न थालेको। यस अवधिमा उनले १ सय ५० बढी म्यूजिक भिडियोमा निर्देशन गरिसकेका छन्।
रमेशको घर कैलाली हो। उनले मुम्बईलाई आफ्नो कर्मथलो बनाएका छन्। अहिले उनको आधा समय मुम्बईमा त आधा नेपालका विभिन्न ठाउँमा बित्छ। उनी मुम्बईमा नृत्य कक्षा चलाइरहेका छन्। कुनैबेला उनी आफ्नै जिल्लामा ओझेलमा परे। अहिले उनीसँग नाम र दाम दुवै छ।
मुम्बईमा जमेका क्यामेरामेन सोनु बिकसँगको परार्मशमा रमेशले नृत्य निर्देशनको ट्रेनिङ नै लिए। केहि वर्ष उनले सिसिटिभी कम्पनीमा कामसमेत गरे।
‘नृत्य मेरो रुचिको विषय हो। साथीहरूकै सल्लाहमा मैले नृत्य निर्देशनमा केही नौलो काम गर्छु भनेर ट्रेनिङ लिए। अहिले निरन्तर काम गरिरहेको छु’, मुम्बईमा कार्यरत रमेशले बिएल नेपाली सेवासँग भने।
उनी देउडा, चौधरी, नेपाली, आधुनिक, भोजपुरी गीतमा काम गरिरहेका छन्।
रमेशले मुम्बईमा देउडा निर्देशकको परिचित पनि बनाएका छन्। ‘म निर्देशनका लागि यहाँ (मुम्बई) मात्र होइन, नेपाल पनि पुगिरहेको हुन्छु,’ उनले भने–‘मेरो पेशाबाट परिवार पनि सन्तुष्ट छ।’
उनको म्युजिक भिडियोले मुम्बईमा रहेका नेपालीभाषीमा राम्रै प्रभाव छोडेको छ। त्यसैले उनी यति बेला आफ्नो कामप्रति आफै दंग छन्।