मिस नेपालको युरोप अडिसन स्वीट्जरल्याण्डमा

तस्बिरः बिएल नेपाली सेवा

मिस नेपालमा सहभागिताका लागि आगामी डिसेम्बरमा युरोप अडिसन स्वीट्जरल्याण्डमा हुने भएको छ।

गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्ड महिला विभागको संयोजकत्वमा मिस नेपालमा सहभागी गराउने उद्देश्यले राजधानी बर्नमा डिसेम्बर १५ मा मिस नेपाल युरोपमा छनोट हुने भएको हो।

संघकी युरोप महिला संयोजक योगिता थापालगायतको टोली अडिशनको निम्ति बर्न आउँदैछ।

बर्नमा दिउँसो एकबजेदेखि कार्यक्रम राखिएको एनआरएन स्वीसकी महिला संयोजक सम्झना थापाले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भनिन्, ‘झट्ट हेर्दा शारीरिक सौन्दर्यको प्रतियोगिता जस्तो देखिएपनि नेपाल सम्बन्धी जानकारी बढाउने, नेपाली भाषा,भेष र संस्कृतिलाई आत्मसात गर्न सहयोग पुर्‍याउने, नेपाली नृत्य र रचनात्मक कामका निम्ति हौसला दिने र नेपालसँग युरोपमा बसेपनि सम्बन्ध जोडिइराखोस् भन्ने मूल उद्देश्य यो मिस नेपाल कार्यक्रमको हो।’

युरोपका विभिन्न देशबाट छानिएर मिस नेपाल युरोपस्तरीय फाइनल कार्यक्रम बेल्जियममा हुनेछ। बेल्जियममा छानिएपछि मिस नेपालको काठमाडौंमा हुने कार्यक्रममा सोझै सहभागी गराइने कुरा संयोजक थापाले बताइन्।

प्रकाशित मिति: : 2019-11-25 21:17:22

प्रतिकृया दिनुहोस्