लण्डनमा बसेर सृजनाकर्म गरिरहेकी प्रतिमा केसी

बिएल


छातीमा राखेँ, आगो बनेर जलायो उसले।
आँखामा राखेँ, पानी बनेर बगायो उसले।

अन्जु पन्तको स्वर र रमेश कायस्थको संगीतमा रहेको यो गीत हिट्स एफएमले वर्षभरी बजेका उत्कृष्ट गीतहरुमा परेको खवर आशिष अबिरलले दिएपछि रचनाकार प्रतिमा केसी छक्क परिन्। आफूले लेखेका गीत र कविताहरु उत्कृष्ट हुन्नन्, सिकारु मात्रै हुँ भन्ने भावना भएकी प्रतिमालाई एकाएक गीत छायाँकन गर्ने प्रस्ताव समेत आयो। उनले हुन्छ भनिन् र टीमले यो गीतको श्रव्यदृष्य बनाएर युट्यूबमा राख्यो। अहिले राम्रै हेरिदै गएको देखेर गीत लेख्ने प्रतिमा केसी आफै छक्क छिन्।

प्रतिमाका श्रीमान् कुमार केसी पनि फाटफूट कविता लेख्छन्। प्रतिमाले पानीको विद्रोह नामको कविता संग्रह नै प्रकाशित गरेकी छिन्। केही महिनामै मुक्तक संग्रह प्रकाशनको तयारी भैरहेको छ।

'लण्डन जस्तो व्यस्त शहरमा दुई छोराहरु हुर्काउन। घरको कामकाज गर्न। जागिर गर्न र लखतरान भएर घर फर्कंदा सृजनशील अझ लेख्ने जाँगर कसरी चल्छ?' भनी सोध्दा उनले भनिन्, मैले आमाको माया पाइन्। आमा भन्ने नै जानिन्। बाले छोरी जन्माएको भनेर। आमालाई हेला गरेपछि। आमा मेरो जीन्दगीबाट सँधैका लागि अलप भइन्। त्यो पीडाले मलाई घोँचिरहन्छ। कति रुनु? त्यही आँशु गीत बनेर निस्कन्छ। कहिले कविता बनेर पोखिन्छ। मनभित्र होँडलिएर उकुसमुकुस भएर शब्द बाहिर निस्कँदा ज्यान थाकेको नथाकेको ख्याल हुँदोरहेनछ।'

उसो त उनको गीत विजया अधिकारी र मेलिना राईले पहिले पनि गाएका थिए, हिम्मत बोलको। तर, यो पछिल्लो गीतले उनलाई लेख्न सक्छु भन्ने हिम्मत पलाएको छ।

नेपालका पत्रपत्रिका र अनलाइनमा गीत कविता लेखिरहने प्रतिमाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पढेकी हुन्। नेपाली साहित्यका गुरु थिए शालिकराम सर। शालिकराम सरको यौटा खुट्टा अर्कोको आकारमा छैन्। सजिलोको लागि उनी बैशाखीको साहारामा पढाउन आउँथे। तर विचार र शिल्पका दृष्टिले कडा थिए उनी।

साहित्यको फराकिलो क्षेत्रमा आइए पढ्न आएकी गाउँकी केटीलाई विचरण गराइदिए, शालिक सरले। ख्याल ख्यालमै उनले तानसेनबाट निस्कने विनयकुमार कसजूको सत्य साप्ताहिकमा रचना पठाइन्, छापियो पनि। छक्कै पर्दै उनले भित्तामै काँटी किलाले ठोकेर टाँसिन्, आफ्नो कविता। कोठामा आउनेहरुलाई एकपटक आफ्नो कविता वाचन अनिवार्य पनि गरिन्। पत्रिकामा छापिएको आफ्नो कविता अरु कसैले वाचन गरेको सुन्दा उनलाई साहित्यकारै भइएछ कि भन्ने लाग्यो।

ती कलेज जीवनका सम्झना र उकुसमुकुस गृहस्थ जीवनमा प्रवेश गरेपछि बदलियो। तैपनि उनले डायरीमा लेख्न छोडिनन्। पत्रपत्रिकामा पठाउन छाडिनन्। अहिले ती रचनाहरु संग्रहित भएर निस्कँदैछन्। आफ्ना कृतिहरु बेचेर श्रीमान र आफूले खोलेको प्रतिमा कुमार फाउण्डेशनमा पैसा जम्मा गर्छिन्। गुल्मी र रुपन्देहीका ५ जना टुहुरा केटाकेटीको अभिभावकत्व लिएकी छिन्।

कुमारको साथ नपाएको भए रचना र सामाजिक काम असम्भव थियो, भन्ने उनको भनाइ छ। कुमार भन्छन्,'उहाँले ए बुढा, उठ्नुस् त भनेर निदाइरहेको बेला पनि उठाउनुहुन्छ। जराकजुरुक उठ्यो। अनि कविता सुन्नुपर्ने हुन्छ। मैले कहिल्यै झिजो मानिन। लेखन र रचनाकर्म प्रति मेरो सम्मान छ। अझ घर धानेकी महिलाबाट। महिलाहरु सृजनशील भएको घरका केटाकेटी पनि असल निस्कन्छन् भन्ने मेरो ठम्याइ छ।'

प्रकाशित मिति: : 2019-12-02 10:57:10

प्रतिकृया दिनुहोस्