ओलम्पिकमा म्याराथन पुरा गर्ने पहिलो नेपालीको इतिहास बनाएका भक्तबहादुर सापकोटाले महिला दौडमा इतिहास बनाएकी सन्तोषी श्रेष्ठको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताएका छन्। उनले बिहीबार ५ हजार मिटरको दौडमा पनि सन्तोषीले पदक भित्र्याउनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन्।
बुधबार दशरथ रंगशालामा बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्ने क्रममा भक्तबहादुरले भने, ‘उनले एकदम राम्रो प्रदर्शन गरिन्।’
सन्तोषीले मंगलबार १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन। सन् १९७२ को म्युनिख ओलम्पिकमा २ घण्टा ३६ मिनेटमा दौड पुरा गरेका भक्तबहादुरले केही खेलाडीलाई छोडेर नेपालको प्रदर्शन सन्तोषजनक हुन नसकेको प्रतिक्रिया दिए।
‘हाम्रो पालामा सुविधा केही थिएन। तर, खेलाडीमा अनुशाषन एकदम थियो। अहिले सुविधा छ। तर, खेलाडीमा त्यति अनुशाषन देखिदैन,’ भक्तबहादुरले भने। नेपाली एथलेटिक्समा पछिल्लो समय राजनीति निकै हावी भएको उनी सुनाउँछन्।
‘एथलेटिक्समा प्रतिभा नभएको होइन। तर, राजनीति निकै छ। राम्रो खेलाडीभन्दा पनि हाम्रोलाई रोज्ने हुँदा एथलेटिक्स पछाडि परिरहेको छ,’ उनले भने।
म्युनिख ओलम्पिकमा दौड पुरा गरेका भक्तबहादुरसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ताः