हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा कसले के गर्दैछन्?

देवकी बिष्ट/बीएल

हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा सरकारी निकायदेखि निजीक्षेत्र सहयोगका लागि जुटेको छ।

सरकारका गृहप्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले प्रभावित क्षेत्रका लागि गएको राति नै तीन ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको ट्वीटरमार्फत सार्वजानिक गरेका छन्।

नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरूको दुई दिनको पारिश्रमिक दिने घोषणा गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ। सोमबारको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितलाई राहत वितरण गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले बताएकी छन।

राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ। सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।

हावाहुरीमा घाइते हुनेहरु थप उपचारका लागि नेपाल प्रहरी अस्पतालका चिकित्सकहरु ‌औषधिसहित उपचारमा संलग्न छन।

यसैबीच कलाकार एवम समाजसेवी 'धुर्मुस' सिताराम कट्टेल राहत लिएर हावाहुरी प्रभावित वस्तीमा पुगेका छन्।उनी धुर्मुस सुन्तली फाउण्डेशनका तर्फबाट बारा जिल्लाका हावाहुरी प्रभावित चारसय परिवारका लागि चामल, त्रिपाल र चाउचाउ लिएर पुगेका हुन्।

प्रकाशित मिति: : 2019-04-01 20:13:43

प्रतिकृया दिनुहोस्