नेपाली सेनाले अस्वीकार गर्‍यो, भारतीय सेनाको दावी

तस्बिरः एजेन्सी

भारतीय सेनाले केही समय अगाडि मकालु हिमालमा यतिको पदचिन्ह फेला परेको दाबी गरेको थियो। तर, नेपाली सेनाले भारतीय सेनाको यस्तो दावीलाई अस्वीकार गरेको छ।

भारतीय सेनाले गत सोमबार आफ्नो पर्वतारोहण दलले यतिको पदचिन्ह फेला पारेको दावी गर्दै फोटो सार्वजनिक गरेको थियो।

नेपालको हिमाली श्रृंखलामा हिममानवको अस्तित्वलाई लिएर दशकौंदेखि विभिन्न अड्कलबाजी चल्दै आइरहेको छ। भारतीय सेनाको पर्वतारोहण दलले ९ अप्रिलमा मकालुको यात्रा सुरु गरेको थियो। यस क्रममा उसले ३२ इन्ची लामो र १५ इन्ची चौडाई भएको विशाल पद्चिन्ह फेला पारेको थियो। यसैको आधारमा भारतीय सेनाले यति भएको दावी गरेको थियो।

नेपाली सेना तथा नेपाल वन्य जीव तथा राष्ट्रिय उद्यान विभागका महानिर्देशक मानबहादुर खड्काले भारतीय अभियान दलको दावीलाई अस्वीकार गरेका छन्। खड्काले हिउँमा भेटिएको पद्चिन्ह हिमाली भालुको भएको बताए।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाँडेले पनि ३–४ वर्ष अगाडि फ्रेन्च अभियान दलका सदस्यले पनि यस्तै निशान भेटेको बताए। त्यतिबेला पनि अनुसन्धानबाट भालुको खुट्टाको निशान प्रमाणित भएको थियो। मकालु आधार शिविर नजिक ठूलो संख्यामा हिमाली भालु बसोबास गर्ने गरेका छन्। मकालु विश्वको पाँचौ अग्लो हिमाल हो। यसको उचाई ८ हजार ४ सय ८५ मिटर छ।

प्रकाशित मिति: : 2019-05-04 23:00:08

प्रतिकृया दिनुहोस्