सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना: आठ जनाको निधन, ६० जनाभन्दा बढी घाइते(अपडेट)

सांकेतिक तस्बिर

सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।

काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बा २ ख १७२५ नम्बरको हेलम्बु यातायातको बस दुर्घटनामा परेको हो। बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार दुर्घटनामा आठ जनाको निधन भएको छ।६० जनाभन्दा बढी घाइते भएका छन्। केही शवलाई दुर्घटनाग्रस्त बसले नै किचेको छ।

घाइते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’

 

प्रकाशित मिति: : 2019-10-11 11:54:12

प्रतिकृया दिनुहोस्