‘इन्काउन्टर स्पेशलिस्ट’ सई चन्दलाई ‘पूर्ण शान्ति पुरस्कार’

बिएल

महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्द ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित भएका छन्।

६४ औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रवार आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले २१ हजार नगद र ताम्रपत्रसहित चन्दलाई सम्मान गरे।

प्रहरीमा विशेष महत्वपूर्ण मानिने ‘पूर्ण शान्ति पुरस्कार’ पाउने सई चन्द व्यावसायिक अधिकृत मानिन्छन् । लामो समयदेखि अपराध महाशाखामा कार्यरत उनी ‘इन्काउन्टर स्पेशलिस्ट’को रुपमा समेत चिनिन्छन् ।

हालका आईजी सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुँदा गरिएको गुण्डा नाइके कुमार घैटे इन्काउन्टरको नेतृत्व पनि उनै चन्दले गरेका थिए । हालका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा गुण्डानाइके कुमार घैटेलाई लाजिम्पाटको शंकर होटेलबाट चन्दले नै गोली हानेर नियन्त्रणमा लिएका थिए ।

पछिल्लो डेढ वर्षदेखि अपराध महाशाखामा कार्यरत रहँदा जेलमा रहेका गुण्डानाइके समिरमान बस्नेत समूहको आपराधिक सञ्जाल तोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका चन्दले सयौं आपराधिक घटनाको अनुसन्धान तथा अपरेसनमा संलग्न भएर काम गरेका थिए ।

पछिल्लो डेढ वर्षयता महाशाखाबाट भएका इन्काउन्टर, विभिन्न आपराधिक समूहका अभियुक्त पक्राउ लगायतका विशेष अपरेसनमा उत्कृष्ट रुपमा काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले चन्दलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो।

प्रहरी प्रधान कार्यालयले हरेक बर्ष प्रहरी दिवसको दिन उच्च जोखिम मोलेर काम गर्ने एक प्रहरी कर्मचारीलाई ‘पूर्ण शान्ति पुरस्कार’ ले सम्मानित गर्ने गर्दछ। ६४औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गठन गरेको पुरस्कार छनोट समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो। प्रहरी दिवसको अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारको लागि प्रहरी प्रधान कार्यालयले डीआईजी केदार रिजालको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियो ।

प्रकाशित मिति: : 2019-10-11 17:24:38

प्रतिकृया दिनुहोस्