बिहिबार, २८ अगस्ट २०२५

पर्यावरणीय असन्तुलनका दुष्परिणामहरू

News Image
तस्बिरः बिएल
• • •

दसैं र हस्त नक्षत्र (हथिया) पनि बितिसक्यो, शरद ऋतुको दिवा तथा रात्री आकास पनि झलमल्ल उदाङ्गो छ। भनिन्छ, आश्विनमा दिन र रात्रीको व्योमाकास सुकिलो, सफा र झलमल्ल हुन्छ, कारण वायुमण्डलमा व्याप्त धुलो र कसिङ्गरहरु पानीले भिजेर भूइँमा सोत्तर भइ छरपष्टिएका हुन्छन्।

सूर्य र चन्द्रमाको प्रकाश दिउँसो र रात्रीको समयमा अबाध रूपेण सोझै पृथ्वीमा पुग्छ र झलमल्ल उज्यालो हुने गर्छ। यस समयमा प्रकृति गर्भ सम्भवा आइमाइ झैं प्रसवको क्रममा हुन्छिन्, धान, कोदो, मकै आदिको झारमा बाला निस्कने अवस्थामा रहेको हेर्न सकिन्छ।

वर्षा ऋतुपछि शिशिर ऋतुको आरम्भ भइसकेको हुन्छ। गर्मी र ठण्ढ़ी (जाड़ो) मौसमको सन्धिकाल समय हो यो। यति बेला बिहान वातावरणमा हल्का ओसिलोपना, मध्यान्हमा हल्का उष्णता तथा बेलुकापख गुलाफी चिसोपना हुने गरेको हुनाले यो मौसम अत्यन्त आनन्ददायक हुन्छ। बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त भने झन आल्हादकारी हुन्छ।

पुराना दिनहरुमा दसैंपछि साँझपख गोधुलीबेलामा उत्तर दिशाबाट दक्षिण दिशातर्फ वारि क्षितिजदेखि पारी क्षितिजसम्मको आकासमा एक पंक्तिवद्ध लहरै चराहरु उचाइमा कर्‍याङ्ग–कुरूङ्गको स्वर झिकेर कराउँदै उड़्दै जादै गरेका हुन्थे।

ती चराहरु यूरोपको साइबेरिया भन्ने अत्यन्त चिसो वर्फिस्थान जस्तो स्थानबाट उड़्दै उष्णकटिबन्धीय कुनै भारतीय आश्रयस्थलमा जाने गर्थे। लहरै उड़दै गरेका ती चराहरुको दृश्य अत्यन्त रमाइलो तथा आवाज दूर्लभ संगीत झैं हुन्थ्यो। ती चरालाई भोजपुरी भाषामा ‘घाँटो वा कड़ाकूल’ तथा नेपाली भाषामा कर्‍याङ्ग–कुरूङ्ग भन्थे।

साँझपख गाँउका केटा–केटीहरू लामबद्ध उभिइ मास्तिर आकासतिर घाँटी तन्काएर ती चराहरुको प्रतिक्षा गर्थे तथा ती चराहरु आकासमा देखिएपछि रमाएर भोजपुरी भाषामा कराउन थाल्दथे–‘ए बकुलवा हमर नोहवा लेले जो, पान कसैली देले जो।’ (ए बकुला, हाम्रो नङ लिएर तथा त्यसको सट्टा पान सुपारी दिएर जाउ)।

यो दृश्य, घटना तथा बालगीत आजभन्दा पचास वर्ष अघिको हो। तर, आजको दिनमा यति बेला आकासमा यो दृश्य पनि छैन त्यो कर्णप्रिय संगीत पनि छैन। किन छैन त भन्दा पर्यावरणविदहरु मौन भइ हाल्नेछन्, उनीहरुसँग कुनै जवाफ हुने छैन।

पर्यावरणको वकालत गर्नेहरुको सामुने किताबी ज्ञान भने पर्याप्त छ (विश्व एन. जी. ओं संस्थाहरुको मोटो पोको त बाकसमा छँदैछ) तर, प्रत्यक्ष अनुभवको भन्ने त्यतिकै अज्ञान छ। प्राणी जगतको पाँच वटा वर्गहरु मध्ये चरा पनि एउटा हो। यी चराहरू मध्ये हाम्रो विभिन्न चाड, पर्व र अवसरहरुमा यिनीहरुको पर्याप्त उपस्थिति हुने गर्थ्यो जस्तै–दसैंको दिन नीलकण्ठ चरा उड़ाएर हेरे गृहस्थको भाग्यवृद्धि हुने जनविश्वास रहेको थियो। त्यसैले मधेशमा बड़ा दसैंको दिन जमरा उखेलेर धारण गरि टीका थापेपछि नीलकण्ठ चरा उड़ाएर खील–बतासा चढ़ाइ त्यस चराको दर्शन गर्ने गरिन्थ्यो।

त्यस्तै उत्तरा नक्षत्रको अन्त्य र हस्त नक्षत्रको वरिपरि सन्मुख खिड़लीच चराको दर्शन वर्षभरिको लागि शूभफलदायक हुने जन विश्वास थियो। गाँउ समाजमा अन्य चराहरुको पनि त्यतिकै महत्व हुन्थ्यो–गाँउघरमा मरेका जानवरहरुको सीनो फालिएपछि त्यसलाई सफासुग्घर पार्ने काम गिद्ध भन्ने चराको थियो तथा कृषकहरुको कृषिबालीलाई नष्ट पार्न पल्केका शत्रू दूलोवासी जनावर तथा निशाचर चराहरूलाई सखाप पार्ने काम चिल्होर (चील) चराको थियो तर आजका दिनहरुमा यी चराहरु आकासमा देखिदैनन्।

चराहरु लोप हुनुमा मात्र केही भन्नु परोइन्न। उभयचर प्राणीहरुको पनि त्यही दुर्दशा छ। धानमा गाँज लागेपछि धानको कलिलो गाँज चपाइ दिएर ‘बीलगोही’ भन्ने सरिसृपले किसानहरूलाई धेरै दुःख दिन्थ्यो। तर, बाली–विरूवामा लागेका कतिपय किराहरुलाई नष्ट पनि पार्दथ्यो। बीलगोही किसानहरुको शत्रु भन्दा पनि मित्र बढ़ी थियो। धानको खेतमा लागेको पानीमा किसिम किसिमका माछाहरु पनि प्राङ्गारिक रूपमा निकै फस्टाउँथे जस्तै– नकटा, डेडि़या, कौवा, ढालो, सउरी, बरारी, सिङ्ही, मङ्गुरी आदि माछाहरू।

त्यति मात्र पनि होइन–स्तनपायी प्राणीहरुको पनि अवस्था यसभन्दा भिन्न छैन। जाड़ोयाममा बेतोड़सित हुइँयय कराउने श्याल वा खरबारीमा खेंखें..खेंखें..गरि कराउने खेंखर (फ्याउरो) अथवा खरबारीमारीमा लामो कान फट्फटाउदै खुर्रर गरि दौडि़एर भाग्ने वनखरायो वनमै वेपत्ता हुनपुग्यो।

आलूबाली सखाप पार्ने दुम्सी, भण्टाको खेतमा लुकेर बस्ने ‘कटास’ (ठूलो पाटे बिरालो) तथा न्याउरी मुसो पनि देखिन छाड़्यो।

प्रकृतिमा प्राकृतिक रूपमा बसोबास गर्ने जीव-जन्तु मात्रको कुरा मात्र होइन बनस्पति जगतका कैयन झार, पात तथा विरूवाहरुको हविगत पनि त्यही अवस्थामा रहेको छ।

गाँउघरको बारीहरु र खेतको आलीमा प्राकृतिक रूपमा उम्रने भोजपुरी भाषाका नामधारी झारपात तथा विरूवा जस्तै– ‘हुरहुर’, ‘थुकहा’, ‘ठोकड़ा’, ‘चिचोर’ ‘गुम्मा’, ‘हड़जोड़वा’ आदि मध्ये अधिकांश लोप भइसकेकका छन् तथा कैयन लोपोन्मुख अवस्थामा रहेका छन्। सौर्य परिवारको हाम्रो पृथ्वी नामक ग्रह प्रकृतिद्वारा हरित, सुगन्धित तथा पूर्ण सन्तुलीत रूपमा सिंगारिएर बनाइएको थियो।

यस ग्रहमा बसोबास गर्ने सम्पूर्ण प्राणी तथा वनस्पति जगत यसको विपूल संशोधनमाथि आश्रित थियो, छ पनि। ती संशाधनहरुको यसका बासीहरु आफूखुशी उपभोग गर्न पाउन स्वतन्त्र छन्। प्रकृतिमा उत्पन्न कुनै पनि संशोधनको उपभोग गर्नमा कुनै पनि किसिमको छेकबार छैन।

मानिसहरुको भनाइ अनुसार बुद्धि न भएका वनस्पति तथा जानवरहरुले आपूलाई आवश्यक पर्ने संशाधनहरुको आफूखुशी उपभोग गर्छन्। हुन त ती वनस्पति र जानवरहरु प्रकृतिमा मानिस भन्दा जेठो हुन्। तिनीहरुको प्रर्याप्त विकाश भइसकेपछि मात्र मानवहरुको प्रादुर्भाव भएको कुरालाई वैज्ञानिकहरुले स्वीकार गरेका छन् र पनि मानवले आफूलाइ सर्व शक्तिमान, बुद्धिमान ठान्छ तथा अन्यलाई अबुद्धिमान भन्छ।

मानवको यसै अहंकारको कारण प्राकृतिक संसाधनहरुको ‘मुफ्ते माल दिले बेरहम’ उक्तिलाई चरितार्थ पार्दै व्यापक दोहन गर्न थाले। प्रकृतिको भण्डार अथाह छ तर असीमित भन्ने छैन।

प्राकृतिक संसाधनहरुको अन्धाधून्द दोहनबाट स्वयं प्रकृति नै क्षुब्ध भइन जसको कारण उपरलिखित दुष्परिमाणहरू देखिन थाले। मानवको बदमासी, हेलचक्रयाइ र स्वार्थ लोलुपताको दुष्फल अन्य जीव–जन्तु र वनस्पतिहरुले पाए ।

प्रकृति हुन् त दयालू छिन्। तर, प्राकृतिक सन्तुलनको दुरूपयोग भएमा भावी सन्ततिले प्रकृतिको भयानक कोप भाजन गर्नुपर्ने हुन्छ, जसको आहट पाएर संयुक्त राष्ट्रसंघको सभामा विश्वका सम्पूर्ण नेताहरुको सामु डेनमार्ककी एक बीस वर्षिया कलिली केटी क्वां..क्वां..गरेर कराएकी थिइन्। उनको करूण क्रन्दनको मर्म के विश्वका शिखर नेताहरुले बुझे त?!

आइतबार, कार्तिक ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)