मेयरसा’प!

१६ हजार ९ सय १७ जनसंख्या रहेको तिलागुफा नगरपालिका कालिकोट जिल्लामा पर्छ। तर, त्यहाँको मेयरको नाम के हो थाह छ तपाईंलाई?

राष्ट्रिय फूलको नामबाट रहेको तेह्रथुमको लालीगुँरास नगरपालिकाको मेयर को हुनुहुन्छ होला ल नाम भनौं त!

खै र! त्यहाँका स्थानीयवासीलाई तत् तत् स्थानीय तहका मेयरज्यूहरूले गुणस्तरीय सेवा दिई नै रहनुभएको होला भन्ने आशा गरौँ।

‘भिजन छैन तेरो…’ भन्नेहरूलाई एउटा सानो जवाफ ‘बगरमा फूल फुलाएर, बगैँचा बनाए आज हजारौँलाई आकर्षित गरिएको छ।’

धरानका मेयर ‘हर्क साम्पाङ अ रिभोलुसन’ लेखिएको फेसबुक आइडीबाट वैशाख ३ गते गरिएको एउटा पोष्ट हो।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा धरान उपमहानगरपालिकाले ३५.५६ अंक प्राप्त गरी उप-महानगरहरूमध्ये तेस्रो स्थान हासिल गरेको थियो।

कार्यसम्पादन मूल्यांकनमा देशभरिका स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट भयो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१.८१ अंक प्राप्त गर्दै पहिलो भएको थियो। तर, त्यहाँका मेयर उति खास चर्चामा छैनन्। मेयर हुन् कृष्णप्रसाद श्रेष्ठ।

नेदरल्याण्डको सहर रोट्रडममा लामो समय मेयर रहेका अहमद अवुतलिव युरोपमा चर्चित ब्यक्ति हुन्। उनलाई त्यहाँका नागरिकले ‘फादर अफ सिटी’ भनेर सम्बोधनसमेत गर्छन्। उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘बसाइँ सरेर सहर आउनेहरू परिश्रम गरेर भविष्य बनाउन आउँछन्, उनीहरूलाई सेवा दिनु मेरो कर्तव्य हो।’

यता पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौँका लागि खुबै प्रयोग भएकाे शब्द हो ‘बालेनको सहर’।

खासगरी काठमाडौँ आउने र काठमाडौँबाट फर्कनेहरूले काठमाडौँ सहरमा घुम्दा खिचेका तस्विर र विमानस्थल अनि निजी तथा सार्वजनिक यातायातबाट काठमाडौँको यात्रा गर्दा लिइएका आफ्ना तस्विरसहित लेख्छन, ‘बालेनको सहरमा…!’

अक्सर काठमाडौँसँग धेरैका धेरैथरि गुनासाहरू पनि छन्। काठमाडौँले देश चलाउन थालेको अवधि कति भयो? वा काठमाडौँ केन्द्रित शासन व्यवस्था भएको समय कहाँबाट सुरु भयो? उपत्यकाभित्र काठमाडौँ जिल्ला अनि त्यहाँभित्र पनि काठमाडौँ महानगर हो। काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ प्रतिष्ठित ‘टाइम म्याग्जिन- २०२३’को कभरेजमा समेत परे।

एल्क कर अष्ट्रियाको सहर ग्रजकी मेयर हुन्। उनले सन् २०२३ को वर्ल्ड मेयर पुरस्कार जितिन्।

दिगो विकास, समावेशी र सांस्कृतिक संरक्षणका लागि उनले गरेको काम उदाहरणीय छन्। लण्डनस्थित सिटी मेयर थिंक फाउण्डेसनले उक्त पुरस्कार प्रादान गरेको थियो।

यी विषयमा यतिबेला सर्वसाधारण त्यसमाथि पनि पछिल्लो पुस्तालाई रुचि भएको देखिँदैन। न त सेवा प्रवाहमा आएका सुधारका विषयमा छलफल हुन्छ।

देशभरिमध्ये काठमाडौँका मेयरको सामाजिक सञ्जालमा निरन्तर चर्चा छ। पूर्व फर्क्यो भने धरानमा हर्क साम्पाङको चर्चाको जगजगी उस्तै छ। पश्चिम चियाउँदा धनगढीका मेयर गोपी हमालको चहलपहल देखिन्छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८०मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा कैलालीको धनगढी उपमहानगरपालिकाले ३४.६३ अंक प्राप्त गरेर पाँचौ स्थानमा रह्यो।

उपत्यकामा ललितपुरतिर अघिल्लो पुस्ताका चिरिबाबु महर्जन पछिल्लो पुस्ताका लागि समेत अनुकरणीय बन्न सक्छन्। कार्य सम्पादन मूल्याङ्कनमा ललितपुर महानगरपालिकाले २५.१८ अंक पाएको थियो।

संघीयताको कार्यान्वयन हुँदा मधेसको राजधानी भएको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले ३१ अंक प्राप्त गरेर छैठौं स्थानमा रह्यो।

२०७८ सालमा काठमाडौँ महानगरपालिकाको कार्य सम्पादन मूल्यांकनमा ५६.१७ अंक प्राप्त गरेको थियो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९–८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरले ३९.०२ अंक मात्रै पायो। कार्यसम्पादन मूल्यांकनमा बाराको कलैया उपमहानगरपालिकाहरू मध्येबाट उत्कृष्ट उपमहानगरपालिका बन्न सफल भयो।

देशभरिका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी ४०.९३ अंक प्राप्त गर्दै कलैया उपमहानगरपालिका उत्कृष्ट बन्यो। त्यहाँका मेयर हुन्- बिनोदप्रसाद साह।

कार्य सम्पादन मूल्याङ्कनमा १६.९९ अंक प्राप्त गरेको लुम्बिनी प्रदेशमा स्थानीय तहको अवस्था सबैभन्दा खराब छ। लुम्बिनी प्रदेशको ऐतिहासिक सहर नेपालगञ्ज उपमहानगरपालिकाले केवल २३.६४ अंक प्राप्त गरेर नवौँ स्थानमा रह्यो।

हुन त सहरको विश्व इतिहासमा ‘मेयर’ खुवै लाइमलाइटमा रहन्छन्।

सन् २०२१ मा भारतको केरल राज्यकी २१ वर्षीया आर्या राजेन्द्रन तिरुवनंतपुरम नगरको मेयर बनिन्। उता इटालीको पनि रोचक प्रसङ्ग छ। ‘फाइभ स्टार मुभमेन्ट’ इटलीमा चलेको एउटा अभियान थियो। सन् २०१६ ताका त्यही अभियानले ३७ वर्षको उमेरमा भर्जिनिया रेगी ‘रोम’जस्तो सहरको मेयरमा निर्वाचित भइन्। जबकि रोमको राजनीतिका विषयमा उनि निकै टाढा थिइन्।

तूरिन र रोमसहित २० वटा सहरमा भएको स्थानीय चुनावमा ‘फाइभ स्टार मुभमेन्टले’ १९ सिटमा जित हासिल गरेको थियो।

‘मेयर’ अँग्रेजीबाट लिइएको सापटी शब्द हो। इष्ट इण्डिया कम्पनीको कालखण्ड १७२६ ई.ताका भारत, कलकत्ता, बम्बई र मद्रासमा मेयर कोर्ट पनि स्थापना भएका थिए।

मूलरुपमा मेयर भनेको ‘मुख्य’ भनेर चिनाउने शब्द हो। बस्तीको पहिलो ब्यक्तिलाई मेयर भन्ने चलन रुसी साम्राज्यमा पनि थियो। क्याथरिन द्वीतीयले मेयरको प्रचलनलाई मजबुत बनाएको मानिन्छ।

देशभरि ६ वटा महानगरमा मेयर छन्। ११ वटा उप-महानगरपालिकामा मेयर छन्। २ सय ७६ वटा नगरपालिकामा मेयर छन्। अनि ४ सय ६० गाउँपालिकामा अध्यक्ष छन्।

अब मनन् गरौँ मेयर सा’पहरूलाई हामीले कतिले कसरी चिन्छौँ अनि सम्झिन्छौँ?

प्रकाशित मिति: : 2024-04-16 20:15:00

प्रतिकृया दिनुहोस्