मधेशसँग मेरो लभ परेको छ,लभरको यात्रामा अवरोध गरे त्यसलाई छाड्दिनँ: अध्यक्ष प्रचण्ड

बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २ नम्बर प्रदेशको समृद्धि र विकासका लागि आफ्नो पार्टीले घोषणा गरेका प्रतिबद्धता र संकल्प पुरा गरेरै छाडने दावी गरेका छन्।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि भन्दै नेकपा २ नम्बर प्रदेश कमिटीले मंगलबार बाराको निजगगढमा गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले २ नम्बर प्रदेशबाट आफू पहिलो पटक निर्वाचित भएर प्रधानमन्त्री बनेको हुँदा तराई मधेशसँग आफ्नो लभ परेको कुरा दोहोर्ए।

‘तराई मधेशसँग मेरो पहिलेदेखि नै लभ परेको छ,म आफ्नो लभर पछाडि परेको र दु:ख पाएको हेर्न सक्दिनँ,लभरको समृद्धिको यात्रामा कसैले अवरोध खडा गरे त्यसलाई छाड्दिनँ', प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा संचालित आयोजनाहरुको निर्माणको क्रममा ढिलासुस्ती भएको हुँदा ठेकेदारलाई युद्ध स्तरमा काम गर्न चेतावनी दिएको बताए। उनले काम नगर्ने ठेकेदारलाई कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए। 'सरकारले काम नगर्नेलाई सरकारले छाड्दैन्', उनले भने 'यदि मधेशलाई फेरि पनि पछाडि पार्ने कार्य जारी रहे म अनसन बस्न पनि तयार छु।'

उनले बुधवारसम्म देशका विभिन्न ५० स्थानभन्दा बढी स्थानमा हुन गईरहेको उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम चरण रहेको हुँदा आफू र पार्टीका सबै नेता त्यसतर्फ केन्द्रित भएको बताउदै निजगढ विमानस्थल बनाउँदा उत्पन्न हुने चुनौतीको व्यवस्थापन गर्ने कार्य शुरु भईसकेको जानकारी दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका कम्युनिष्टहरु फुटेर होइन जुटेर संसारलाई देखाईदिएको बताउदै अब सरकार 'समृद्ध नेपाल र सुखी नेपाली'को अभियानलाई पुरा गर्ने संकल्पका साथ अगाडी बढेको बताए।

उनले तराई मधेशका जनता सुरक्षाकर्मीभन्दा पनि आफ्नो सिमा जोगाउन अहोरात्र खटेको र उनीहरुको योगदानलाई सरकारले सलाम गर्ने बताउदै नेपाली सिमा कसैले मिच्न नसक्ने दावी गरे।

उपप्रधानमन्त्री पोखरेलले प्रदेश नम्बर २ मा भ्रष्टाचार र अनियमितता बढेको सम्बन्धमा जनगुनासो आएको बताउदै जुन सुकै पदमा भएमा भएपनि भ्रष्टाचार र अनियमिततामा संलग्नहरुले छुटकारा नपाउने चेतावनी समेत दिए।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव लगायतका नेताहरुको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-11-26 22:00:14

प्रतिकृया दिनुहोस्