माथिल्लो क्रमका शीर्ष ब्याट्सम्यान चम्किँदा इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई ३५३ रनको लक्ष्य दिएको छ।
लण्डनमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रन जोडेको हो।
यो विश्वकप इतिहासमा कुनै पनि टोलीले अष्ट्रेलियाबिरुद्ध ३५० रन भन्दा बढी बनाएको पहिलो पटक समेत हो।
भारतका लागि ओपनर शिखर धवनले शतकीय इनिङ्स खेले। पछिल्लो केहि समय यता खराब लयमा रहेका धवनले १०९ बल खेल्दै १६ चौकासहित ११७ रन जोडे।
धवनसँग पहिलो विकेटका लागि १२७ रनको सतकीय साझेदारी गरेका ओपनर ब्याट्सम्यान रोहित शर्माले ५७ रनको अर्धसतकीय पारी खेले।
उत्कृष्ट सुरूवात गरेको भारतका लागि शर्माको विकेट पछि तेस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग ९३ रनको साझेदारी गरेका थिए। ३७ औं ओभरको अन्तिम बलमा धवन मिचल स्टार्कको शिकार बन्दा भारतले २ विकेट गुमाएर २२० रन जोडेको थियो।
धवनको विकेट पश्चात चौथो नम्बरमा ब्याटिङ गर्न उत्रिएका हार्दिक पान्ड्याले बिष्फोटक ब्याटिंग गर्दै ४८ रन जोड्दा भारतले ३०० रनको आँकडा पार गर्यो। मात्र २७ बल खेलेका हार्दिकले ४ चौका र ३ छक्का प्रहार गरे पनि अर्धसतकबाट २ रनले चुके।
यस्तै महेन्द्र सिंह धोनीले व्यक्तिगत २७ र लोकेश राहुलले अविजित ११ रन जोड्दा अन्तिम ओभरमा आउट भएका कप्तान बिराट कोहलीले ८२ रनको इनिङ खेले। ७७ बल खेलेका कोहलीले ४ चौका र २ छक्का प्रहार गरेका थिए।
अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २ तथा मिचल स्टार्क, नेथन कुल्टर नाइल र प्याट कमिन्सले समान १-१ विकेट लिए।