एमालेका ‘फरार सांसद’ ओली उपस्थित कार्यक्रममा, प्रहरी हेरेको हेर्‍यै

Break n Links
Break n Links

मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेका एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन्।

प्रहरीको पक्राउको लिस्टमा रहेका पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका हुन्। पन्थी यसअघि नै प्रदेश सभामा पनि निर्वाध पुगिरहेका छन्। सार्वजनिक कार्यक्रममा देखिइरहेका छन्।

तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पूर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका एक सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको छ।

पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, उनीहरूको पक्राउ पूर्जी प्रहरी युनिटमा फनफनी घुमिरहेको छ। तर, प्रहरी उनलाई समाउन सत्तासँग डराइरहेको छ।

मोरङ जिल्ला अदालतले ०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गर्दै असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिन आदेश दिएको थियो। 

साउन ६ गते काठमाडौं प्रहरी परिसरले पन्थी रुपन्देहीमै रहेको भन्दै जिल्ला प्रहरी कार्यालयलाई उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराउन निर्देशन दिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोही पत्रमा इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाउन तोक आदेश गरेको थियो।

कपिलवस्तु वाणगंगा नगरपालिका राजपुरका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित सांसद हुन्।

पल्लवी कम्पनीले ०७५ चैत ११ गते मुद्दा दर्ता गरेकोमा ०७७ मंसिर २३ गते जिल्ला अदालत मोरङले बाँकी रकम भराउने फैसला गरेको थियो। तर फैसला कार्यान्वयन नभएपछि कम्पनी फेरि अदालत पुगेको थियो।

अदालतले गोरखापत्रमा सूचना प्रकाशित गर्न र भुक्तानी तिर्त १५ दिनभित्र आफैं अदालतमा आउने सूचना गरेको थियो। तर पनि संचालकद्वय खनाल र पन्थी सम्पर्कमा नआएपछि अदालतले देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार जनही ६ महिना कैद गर्न आदेश भएको थियो।

प्रकाशित मिति: : 2025-05-12 12:25:00

प्रतिकृया दिनुहोस्