सांसद पद दुरुपयोग गरेर बेलायत पुगिन्, उतै लुकिन्

Break n Links
Break n Links

जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभा सांसद गीता गुरुङले राजीनामा दिएकी छिन्।

उनले सभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा आफूले पदमा बसेर पनि जनताका लागि काम गर्न नसकेको र जनताकै करबाट पारिश्रमिक लिइरहन उपयुक्त नरहेको उल्लेख गरेकी छन्।

राजीनामा पत्रमा उनले भनेकी छिन्, ‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ।’

उनले थप भनेकी छन्, ‘म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु।’

उनले देश र जनताको पिरमर्म राम्रोसँग बुझेको र ‘देश र जनताभन्दा माथि कोही हुँदैन’ भन्ने आफ्नो मान्यता रहेकाले पदमा बसिरहन उपयुक्त नरहेको ठानेको जिकीर गरेकी छन्।

तर, स्रोतका अनुसार उनी पछिल्लो समय बेलायतमा लुकिछिपी बसोबास गर्दै आएकी छन्। सांसद पदको दुरुपयोग गर्दै बेलायत पुगेकी उनी उतै लुकेकी हुन्।

जनमत पार्टीबाट उनी समानुपातिक कोटाबाट संसद् बनेकी थिइन्। अझ रोचक कुरा उनले आफूनिकट स्रोतहरूलाई आफूले जनमत पार्टीलाई लाखौं रकम तिरेर समानुपातिक सिट खरिद गरेको बताएकी छन्।

स्रोतले बताए अनुसार उनी देशमा बसेर सांसद पद खरिद गरेको रकम नै उठाउँन नसक्ने देखेपछि उनी बेलायत भास्सिएकी हुन्।

गुरुङनिकट स्रोतले उनको भनाइ उद्यृत गर्दै भन्यो, ‘समानुपातिक सांसद बन्नका लागि लाखौं पैसा पार्टीलाई बुझाएकी थिएँ। नेपाल बसेर के गर्नु? त्यहाँ बसेर त्यत्रो पैसा कसरी तिर्नु?’ भन्ने बताउने गरेकी छन्।’

प्रकाशित मिति: : 2025-05-13 13:42:00

प्रतिकृया दिनुहोस्