भारतविरुद्ध आइतबार इंग्ल्यान्डको ओभलमा भएको खेलमा विश्व च्याम्पियन अस्ट्रेलिया २० वर्षपछि खराब नतिजासहित भारतसँग पराजित भएको छ।
भारतले पहिलो ब्याटिङ गर्ने क्रममा शिखर धवनको सतकीय इनिङमा ३ सय ५२ रन बनाएको थियो।
प्रत्युत्तरमा अस्ट्रेलिया ३ सय १६ रन मात्र जोड्न सफल भयो। अस्ट्रेलियाको पराजयमा भुवनेश्वर कुमार र जसप्रीत बुमराहले ३–३ विकेट लिए।
अस्ट्रेलिया विश्व कपमा रन पछ्याउँदै २० वर्ष र १९ खेलपछि पराजित भएको हो। पछिल्लो ४ वटा विश्व कपमा अस्ट्रेलिया दोस्रो इनिङमा ब्याटिङ गर्ने क्रममा कहिल्यै पराजित भएको थिएन।
पछिल्लो समय सन् १९९९ को विश्व कपमा अस्ट्रेलिया लक्ष्य पछ्याउने क्रममा पाकिस्तानसँग पराजित भएको थियो। त्यतिबेला पाकिस्तानले पहिलो ब्याटिङ गर्ने क्रममा ८ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो। पाकिस्तानका लागि इन्जमाम उल हकले ८१ रन बनाएका थिए।
प्रत्युत्तरमा अस्ट्र्ेलिया २ सय ६५ रनमा अल आउट भएको थियो। तर फाइनलमा अस्ट्रेलियाले ८ विकेटले पाकिस्तानलाई पराजित गरेको थियो।
सन् २००३ र २००७ को विश्व कपमा कुनै खेलमा पराजय नभोगी अस्ट्रेलिया विजयी भएको थियो। सन् २०११ मा अस्ट्रेलियाले लिग खेलमा पाकिस्तान र क्वाटरफाइनलमा भारतसँग पराजय भोग्नु परेको थियो। तर, दुवै खेलमा कङगारु टोली पहिलो ब्याटिङ गर्दा पराजय भएको थियो।