भारतको विश्व कप जित्ने सपना चकनाचुर, सेमिफाइनलमै न्युजिल्यान्डसँग पराजित

Agency

भारतको तेस्रो पल्ट विश्व कप जित्ने अभियान चकनाचुर भएको छ। दुई दिन लगाएर न्युजिल्यान्डले दिएको २ सय ४० रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा विश्वस्तरीय ब्याट्सम्यानको भीड रहेको भारत १८ रनले पराजित हुँदै विश्व कपबाट बाहिरिएको छ।

न्युजिल्यान्ड लगातार दोस्रो पल्ट विश्व कपको फाइनलमा प्रवेश गर्यो। सन् २०१५ को विश्व कपमा पनि न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो।

२४ रनमा ४ विकेट गुमाएको भारतका लागि विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी र रवीन्द्र जडेजाले सातौं विकेटका लागि १ सय ८ रनको साझेदारी गरे पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन्।

भारतको सपनामा माट हेनरीले पानी हाले। उनले पहिलो पावरप्लेमै तीन उस्ताद ब्याट्सम्यान रोहित शर्मा, केएल राहुल र दिनेश कार्तिकलाई शिकार बनाएपछि भारत धरासायी बन्न पुगेको थियो।

जडेजाले ४ छक्का र ४ चौकाको सहयोगले ५९ बलमा ७७ रन बनाउँदै खेललाई आफ्नो तर्फ तान्ने प्रयास गरेका थिए। तर, उनी ट्रेन्ट बोल्टको बलमा आउट भए। यस्तै, आफ्नो कप्तानीमा सन् २०११ मा भारतलाई दोस्रो पल्ट विश्व कप जिताएका धोनी ५० रन बनाउँदै रन आउट भए। उनको रन आउट पनि भारतका लागि दुर्भाग्य बन्यो।
न्युजिल्यान्डको जितमा हेनरीले ३ विकेट लिए। बोल्ट र सान्टनरले २–२ विकेट लिए।

पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो। प्रत्युत्तरमा भारत ४९ दशमलव ३ ओभरमा २ सय २१ रन बनाउँदै अलआउट भयो।

भारतका लागि ऋषभ पन्तले ३२ र हार्दिक पाण्ड्याले ३२ रन बनाएका थिए। रोहित, राहुल र कप्तान विराट कोहली १–१ रन बनाएर आउट भए। दिनेश कार्तिक ६ रनमा आउट भएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ र रोस टेलरले ७४ रन बनाए। मंगलबार ४६ ओभरको खेल हुँदा बर्षा बाधक बनेको थियो। बाँकी खेल बुधबार ‘रिजर्भ डे’ मा गरियो। म्यान अफ दि म्याच हेनरी घोषित भए। उनले १० ओभरमा १ मेडन राख्दै ३७ रन मात्र खर्चेका थिए।

 

प्रकाशित मिति: : 2019-07-10 19:55:33

प्रतिकृया दिनुहोस्