बेलायतमा महिला गेस्टमाथि दुब्र्यवहार गरेको आरोपमा अफगानिस्तानका तीब्र बलर अफताब आलम एक वर्षको लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्धित भएका छन्।
उनलाई यसै साता काबुलमा बसेको अफगान क्रिकेट बोर्डको कार्यकारी समितिको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
बेलायतको साउथहाम्पटनस्थित खेलाडी बसेको होटलमा अफताबले एक महिला गेस्टमाथि दुब्र्यवहार गरेका थिए। उनलाई विश्व कप टोलीबाट हटाएर अफगानिस्तानले तत्कालै घर फर्काएको थियो।
अफताबले अन्तिम खेल २२ जुनमा भारतविरूद्ध ११ रनले पराजित खेल साउथहाम्पटनमै खेलेका थिए। प्रमुख प्रशिक्षक फिल सिमन्सले आइसिसीको भ्रष्टाचारविरूद्धको बैठकमा पनि उनी उपस्थिति नभएपछि दुई खेलमा प्रतिबन्ध लगाएका थिए।
२६ वर्षीय अफताबले जुन १६ मा भारत र पाकिस्तानबीच ओल्ड ट्राफोडमा भएको खेलमा एक अपरिचित व्यक्तिलाई आफ्नो टोलीको अर्को खेलाडीको एक्रिडेसन कार्ड उपलब्ध गराएर भिआइपी लाउन्जमा प्रवेश गराएका थिए। सुरक्षाकर्मीले थाहा पाएपछि ती व्यक्तिलाई बाहिर निकालिएको थियो।
अफताबले विश्व कपको तीन खेलमा ४ विकेट लिएका थिए।