क्रिकेटको जननी इंग्ल्यान्डको अगाडि विलियम्सनको रणनीति, कसले जित्ला विश्व कप?

Agency

क्रिकेटको जननी मानिने इंग्ल्यान्ड नेपाली समयअनुसार आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा ऐतिहासिक लर्ड्स मैदानमा विश्व कपको फाइनलका लागि उत्रिँदा थुप्रै इतिहाससँग साझात्कार हुनेछ।

क्रिकेटको जन्मदाता इंग्ल्यान्डले यही मैदानबाट सन् १९७५ मा विश्व कप क्रिकेटको आधार स्तम्भ खडा गरेको थियो। तर, यसबीचमा तीन पल्ट विश्व कपको फाइनलमा पुगेर पनि पराजित भयो।

२७ वर्षपछि इंग्ल्यान्डलाई फेरि यो अवसर जुरेको छ। आज लर्ड्समा न्युजिल्यान्डसँग क्रिकेटको नयाँ इतिहास रच्न इंग्लिस खेलाडीहरू मैदानमा उत्रिँदैछन्।

सन् १९९२ मा पाकिस्तानसँग फाइनलमा पराजित भएको इंग्ल्यान्ड करिब तीन दशकपछि फाइनल खेल्दैछ। तर, घरेलु टोलीका लागि गत विश्व कपको फाइनल खेलिसकेको न्युजिल्यान्डलाई पराजित गर्न सोचे जति सहज हुने छैन।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन अहिले उत्कृष्ट लयमा छन्। उनीसँग युवा र अनुभवी टोली छ। फेरि बलरहरूले उनलाई निरास पारेका छैनन्। अनुभवी ट्रेन्ट बोल्टदेखि लोकी फर्गुसन, माट हेनरी, मिशेल स्टेनरले कप्तान विलियम्सनको निर्णयलाई प्रदर्शनद्धारा न्याय गर्दै आइरहेका छन्।

विलियम्सन कुशल रणनीतिकार मानिन्छन्। विश्व कपको सबैभन्दा बलियो ब्याटिङ लाइन–अप मानिएको भारतलाई १८ रनले पराजित गर्न उनले बलिङमा गरेको फेरबदलको सबैले प्रसंसा गरेका छन्।

उनी फाइनलका लागि टिम साउथीलाई मौका दिने कि नदिने भनेर विचार विमर्शमा छन्। गत विश्व कपमा साउथील्े इंग्ल्यान्डविरूद्ध ७ विकेट लिएका थिए।

न्युजिल्यान्डको लागि सबैभन्दा ठूलो टाउको दुखाई प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल र कोलिन मुनरोको निरासाजनक प्रदर्शन हो। उनीहरूले प्रभावकारी सुरुवात दिन सकेका छैनन्। यस्तै, अनुभवी रोस टेलरको प्रदर्शन पनि सोचेजति राम्रो भएको छैन।

उनीहरू फर्ममा फर्किएका खण्डमा इंग्लिस बलरलाई आज रन रोक्न निकै गाह्रो पर्नेछ। किनभने टेलर र गुप्टिल विश्व कपमा आफ्नो पूर्व कप्तान स्टेफन फ्लेमिङको १ हजार रन पुरा गर्ने इतिहास नजिक छन्। टेलरले ३२ खेलमा ९ सय ८७ रन र गुप्टिलले २६ खेलमा ९ सय ७६ रन पुरा गरिसकेका छन्।

यी दुबैका लागि इतिहास बदल्ने मौका पनि हो। न्युजिल्यान्ड र इंग्ल्यान्डबीच विश्व कपमा हालसम्म ९ वटा खेल भएको छ। जसमा किवी टोली ५ पल्ट र इंग्ल्यान्ड ४ पल्ट विजयी भएको छ।

तर, पछिल्लो ५ एकदिवसीय खेलमा इंग्ल्यान्डले ४ पल्ट न्युजिल्यान्डलाई पराजित गरेको छ।

इंग्ल्यान्डको अहिलेको सबैभन्दा बलियो पक्ष भनेको ब्याटिङ लाइन–अप हो। चोटबाट फर्किएका प्रारम्भिक ब्याट्सम्यान जेसन रोय झन् बढी घातक देखिएका छन्। रोय र जोनी बेयरस्टो जारी विश्व कपको सबैभन्दा सफल प्रारम्भिक जोडी हो। पूर्व कप्तान जोए रुट तथा कप्तान इयोन मोर्गन पनि राम्रो फर्ममा छन्।

रुट यतिबेला विश्व कपमा ६ सय रन पुरा गर्ने पहिलो इंग्लिस ब्याट्सम्यान बन्ने अभियानमा छन्। उनले जारी विश्व कपमा ५ सय ४९ रन बनाइसकेका छन्।

लर्ड्समा आज हुने फाइनल खेलमा टसले पनि निकै ठूलो महत्व राख्नेछ। पछिल्लो समय लर्ड्समा पहिलो ब्याटिङ गर्नेले खेल जित्दै आएको इतिहास छ।

प्रकाशित मिति: : 2019-07-14 12:42:22

प्रतिकृया दिनुहोस्