जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

AFP/MIGUEL MEDINA

कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले खिन्न बनाएको छ ।आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकहरुका केन्द्रीय बैंकहरुले बैजनी रङ्गको ५०० दरको नोट जारी गर्न छाड्नेछन् ।

 जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन् । युरोपेली केन्द्रीय बैंकको विज्ञप्ति अनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५०० दरका बैंक नोट प्रयोग गर्नेछन् ।

जर्मनीको मार्गबर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५०० दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गरेका छन। उनले ५०० नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाएका छन । “मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ । यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन ।”

 इसीबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरु बैंकहरुले पनि विस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन् । इसिबीले यसको साटो अरु कम मूल्यका नोटहरुको संख्या बढाउनेछ । तर, घरमा ५०० का नोट राख्दैमा आत्तिनु पर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ ।

 “मानिसहरुले यो नोट चलाउन वा घरमै राख्न सक्छन्,” इसीबीकी प्रवक्ता इभा टेलरले बताए । गत महिना युरो नोटको प्रवाह हुँदा ५०० दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो ।

प्रकाशित मिति: : 2019-01-27 22:49:30

प्रतिकृया दिनुहोस्