जलवायु परिवर्तन: यो दशक सबैभन्दा गर्मी दशक हुने अनुमान

Photo: NASA

सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन्। ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ।

आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको वर्ष पनि हुन सक्नेछ।जलवायु परिवर्तनको मुद्दामा १.५ डिग्री सेल्सियसलाई महत्त्वपूर्ण सङ्घारको रूपमा लिइन्छ।

यदि तथ्याङ्कसँग प्रक्षेपण मिलेमा सन् २०१४ देखि सन् २०२३ सम्मको दशक १५० वर्ष यताको सबैभन्दा गर्मी दशक हुनेछ।

ब्रिटेनको मौसम विभागका अनुसार औद्योगिक युगको औसतमा एक डिग्री सेल्सियस तापक्रम बढी भएको पहिलो वर्ष सन् २०१५ थियो।त्यसयता प्रत्येक वर्ष विश्वको तापक्रम औसतमा एक डिग्रीको वरपर नै रहेको छ। आगामी पाँच वर्षमा यो बढ्न सक्ने विभागको प्रक्षेपण छ।

"हामीले सन् २०२३ सम्मका लागि तापक्रम प्रक्षेपण गरेका छौँ। त्यो प्रक्षेपणले तापक्रम नराम्ररी बढिरहेको देखाउँछ," प्राध्यापक एडम स्काइफले बीबीसीसँग भने।

"प्रत्येक वर्षको तापक्रम हेरेर हामीले प्रक्ष‍ेपण गरेका हौँ, र पहिलो पटक अस्थायी रूपमा भएपनि हामीले पेरिस सहमतीले राखेको महत्त्वपूर्ण १.५ डिग्री सेल्सियसको सङ्घार नाध्ने देखिएको छ।"

गत अक्टोबरमा स‌ंयुक्त राष्ट्रसङ्घले सो सङ्घार नाध्दा हुने असरहरूको बारेमा व्याख्या गरेर एक प्रतिवेदन प्रकाशित गरेको थियो।

सो प्रतिवेदनले सन् २०३० सम्ममा त्यो सङ्घार नाध्न नदिनका लागि विश्वभरि व्यापक रूपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने देखाएको थियो। ब्रिटेनको मौसम विभागले आगामी पाँच वर्षमा त्यसो हुनसक्ने सम्भावना १० प्रतिशत रहेको देखाएको छ।

ब्रिटेनको मौसम विभागले आफ्नो प्रक्षेपणमा आफू ९० प्रतिशत विश्वस्त भएको जनाएको छ।सन् २०१९ देखि सन् २०२३ सम्ममा तापक्रम औसत १.०३ देखि १.५७ डिग्री सेल्सियससम्म बढ्ने र पृथ्वीका ध्रुवीय विन्दुहरूमा ज्यादा तातो हुनेछ।

आफ्नो विगतका प्रक्षेपणहरू मिलेको आधारमा यो प्रक्षेपण पनि मिल्ने दावी अध्ययन समूहले गरेको छ।स्थान अनुसार सबैभन्दा गर्मी भएको समय

मौसम विभागको प्रक्षेपण अन्य जलवायुसम्बन्धी कार्य गर्ने संस्थाहरूले सन् २०१८ को तापक्रमको प्रतिवेदन निकालिरहेको बेला आएको छ। ती प्रतिवेदनहरूका अनुसार सन् २०१८ हालसम्मको चौथो सबैभन्दा गर्मी वर्षका बनेको थियो।

विश्व मौसम विज्ञान सङ्गठनले प्रकाशित गरेको तथ्याङ्कमा हालसम्मका सबैभन्दा गर्मी २० वर्षहरू सबै गएको २२ वर्षको अवधिमा भएको बताएको छ।

"तापक्रम मुद्दाको एक अंश मात्रै हो। यसको असरले धेरै देशका लाखौँ मानिसलाई असर गर्छ जसको सन् २०१८ मा अर्थतन्त्र र प्रकृतिमा नराम्रो प्रभाव पर्‍यो," सङ्गठनका महासचिव पेटेरी तालसले भने।

जलवायु परिवर्तन विज्ञहरूले ब्रिटेनको मौसम विभागको प्रक्षेपण आशातीत नै भएको बताएका छन्।"दुर्भाग्यवश मौसम विभागको प्रक्षेपण आश्चर्य होइन्," ब्रिटिस अन्टार्टिक सर्भेकी डा. अन्ना जोन्सले भनिन्।"हामीले कार्बन उत्सर्जन कम नगरेसम्म औसत तापक्रम बढ्ने क्रम रोकिन्न।"

प्रकाशित मिति: : 2019-02-11 04:21:16

प्रतिकृया दिनुहोस्