लघुकथा

सरी !

अनिता लामा

काठमाडौं

ऊ मुख्य हाकिम हो, सँधै अफिस आइरहन पनि पर्दैन। कहिलेकाहीँ सेलब्रेसन गर्न मात्र आइदिए पुग्छ। आज ऊ तलबाट दुई जना मान्छे लिएर फटाफट अफिसको भर्‍याङ उक्ल्यो र स्टाफको चेम्बरमा पुग्यो, अनि कडक्क कड्कियो,‘यो काम किन भएन ? के भएर भएन ? किन गर्नुभएन ? मान्छेलाई दुःख दिने ?’

स्टाफले भन्यो,‘उहाँको मिल्दैन। मिल्दैन भनेर मैले पटक पटक भनिसकें उहाँलाई।’

‘किन मिल्दैन राम्ररी भन्नुपर्दैन ? ४ घण्टादेखि यहाँ पर्खिरहेको छ। तपाईं भन्नसक्नुहुन्न ? बोल्न आउँदैन ? जागिर खाएकाे कति वर्ष भो ? यही हो तरिका ?’ हाकिम साब लगातार पड्कीरह्यो।

स्टाफ बोल्यो,‘उहाँले फोन गर्नुहुँदा पनि मैले भनेको हो। यहाँ पनि धेरैपटक आइसक्नुभो। तपाईंको यस्तो भएकोले हुँदैन, यो प्रोसेस नै मिलेको छैन, हो कि होइन भन त दिपक ?’ सँगै उभिरहेको अर्को स्टाफ दिपकको सहारा लियो उसले।

दिपक बोल्यो,‘उहाँलाई मैले पनि भनेको हो। उहाँले फाराम भरेको प्रक्रियादेखि नै मिलेको छैन। प्रक्रिया मिलाएर आउनु भनेका थियौं। कति महिनादेखि यही कुरा लिएर आइरहनुभएको छ, अनि कहिले को नेता, को मन्त्री, सांसद आदिको फोन आउँछ, काम के भएको गरिदिनुपर्यो भन्नुहुन्छ। नियमले मिल्दैन भनेपछि हामीले मिल्दैन भन्नपर्यो। अब मिल्छ भन्ने हो भने हजुरहरुले निर्णय गरेर हामीलाई भन्नुपर्यो।’

‘धेर कुरा गर्ने ? यो के मिल्दैन, किन मिल्दैन बुझायौ उहाँहरुलाई ? मलाई बुझाउ।’ हाकिमले अझ थर्कायो। स्टाफहरुले फाइल पल्टाएर हाकिमलाई सबै कामको विषय बुझायो। हाकिम चुप बसिरह्यो। त्यसपछि हाकिमले ति दुई मान्छेसँग ह्याण्डसेक गरेर भने,‘सरी है, तपाईंहरुको काम हुनसकेन। मलाई यत्रो बेर पर्खनुपर्यो। माननीयज्यूलाई पनि भन्दिनुहोला सरी,’ हाकिम फटाफट अफिसबाट बाहिरियो।

ति दुई मानिसले स्टाफहरुलाई भने,‘आज हामी तपाईंहरुलाई होइन, उहाँ मुख्य हाकिमसाबलाई समय मिलाएर भेट्न आएका थियौं, उहाँ भनेको समयभन्दा ४ घण्टा ढिला आउनुभयो। हाम्रो कारणले तपाईंहरुलाई नराम्रो भयो ‘सरी’।

स्टाफ दिपक बोल्यो,‘हाकिम साबको तर्फबाट यस्तो सरी सयौं व्यहोरिसक्यौं, तर उहाँको मुखबाट हाम्रो सामु कहिल्यै झर्दैन सरी। हामीलाई फोन गर्ने सबै नेता, माननीयज्यूहरुलाई पनि भन्दिनुहोला ‘सरी’।

प्रकाशित मिति: : 2022-02-12 15:45:00

प्रतिकृया दिनुहोस्