रुसी प्रधानमन्त्री क्युबा जाँदै

तस्बिरः एजेन्सी

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लागेका छन् ।

रुसको विदेश मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उहाँ आगामी बिहीबार र शुक्रबार औपचारिक भ्रमणका रुपमा क्युबा जान लागेको समाचारमा जनाइएको छ ।

उक्त भेटका क्रममा द्विपक्षीय हितका विविध विषयका साथै व्यापार, अर्थ, ऊर्जा र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा आपसी छलफल र सहयोग आदानप्रदान र लगानीबारे सम्झौता हुने बताइएको छ । प्रधानमन्त्री मेदवेदेभले सन् २०१३ मा क्युबाको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा रुस र क्युबाबीच कैयौँ विषयमा आपसी साझेदारीका साथै सहयोग सम्झौता भएको थियो ।

यी दुई देशबीचको द्विपक्षीय व्यापार यस वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ५० करोड अमेरिकी डलर बराबर पुग्नसक्ने अनुमान गरिएको बताइएको छ ।
यी दुई देशले यही सेप्टेम्बर महिनाको मध्यतिर पनि मस्कोमा व्यापार र ऊर्जाका क्षेत्रमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर गरेका थिए ।

रुसी विदेश मन्त्रालयले मङ्गलबार प्रधानमन्त्री मेदवेदेभको क्युबा भ्रमणको तालिका सार्वजनिक गरेको छ । उहाँको भ्रमणमा रुसका अन्य वरिष्ठ अधिकारीहरुको पनि सहभागिता रहने सो समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-01 13:54:33

प्रतिकृया दिनुहोस्