स्थानीय तह निर्वाचन

मतदाता भन्छन्ः भोट चाहिए खानेपानी ल्याइदिनू

Breaknlinks
Breaknlinks

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै उम्मेदवारका आकांक्षीहरू गाउँ छिर्न थालेका छन्। खासगरी नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरू पार्टी प्रवेश तथा संगठन विस्तारको अभियान लिएर मतदाता भेट्न टोल–टोलमा पुगिरहेका छन्।

यो वा त्यो भाषा मिलाएर उनीहरूले मतदाताको मन जित्न खोजिरहेका छन्। यहाँका मुख्य तीन पार्टीले हालसम्म उम्मेदवार तय गरेका छैनन्। तर उनीहरू आफ्नै पार्टीलाई भाेट दिनुपर्ने बताउँदै गाउँ–ठाउँमा हिँडिरहेका छन्।

गंगादेव गाउँपालिका लुम्बिनी प्रदेशकै ‘पंगु र भ्रष्ट’ स्थानीय तह बनेको एमाले–कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूले आरोप लगाइरहेका छन्।

उता माओवादी केन्द्रका नेताहरू भने गाउँपालिकामा धेरै राम्रा कामहरू भएकाे बताउँछन्। ताम्राखोला–रमाइँ खानेपानी मर्मत योजनामा व्यापक भ्रष्टाचार भएको स्थानीयहरूको गुनासो छ।

स्थानीय चुनावअघि नै खानेपानीको समस्या समाधान गर्न उनीहरूको माग छ। नाउली, बडामेला, रमाइँलगायतका ठाउँमा खानेपानीको चरम अभाव छ।

प्रदेश सरकारबाट खानेपानी मर्मतका लागि ५१ लाख रकम विनियोजित गरिएको थियो। तर लाखौं रकम झ्वाम पारी नयाँ उपभोक्ता समितिले उल्टै सात लाख ऋण देखाएको आरोप छ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे दुईवटा उजुरीसमेत परेको छ। खाइपाइ आएको खानेपानी मर्मतका काम झन बिगारेको स्थानीय छत्रबहादुर डाँगी बताउँछन्।

‘खानेपानी निर्माण कार्य सम्पन्न भएको यत्रो समय भइसक्यो। तर अहिलेसम्म धारामा पानी नै झर्दैन,’ उनले भने। डेढ वर्षदेखि गाउँभर खानेपानीको चरम समस्या छ।

खानेपानीको चरम अभाव हुँदा गाउँलेहरू आजित बनेको अर्का स्थानीय हरिप्रसाद डाँगीले बताएका छन्। ‘नेताहरू मुख देखाएर गाउँ छिरिरहेका छन्। खानेपानीको समस्या समाधान गर्नुपर्दैन? अबकाे चुनावमा भ्रष्टहरूलाई भोट हालिँदैन।’

जनप्रतिनिधिले नै उपभोक्तालाई गुमराह राखेर चुनेको उपभोक्ता समितिले खानेपानीको गतिलो मर्मत नगरेको डाँगीको गुनासो छ। मर्मत समितिले दुईवटा ‘आरभीटी ट्याङकी’ र टुटी बिनका धारा बनाएको छ।

फलामे पाइप (जीआई) लाग्ने ठाउँमा पनि प्लाष्टिककाे पाइप प्रयोग गरेको उपभोक्ताहरूको गुनासो छ। ‘ब्रेक प्रेसर ट्याङ्याक’ राख्नुपर्ने ठाउँमा सिधै कालो प्लाष्टिकाे पाइप राखिएको छ। गंगादेवका जनप्रतिनिधिलाई फेरि भोट माग्ने नैतिकता नभएको स्थानीय युवा प्रकाश डाँगी बताउँछन्।

‘नाउलीमा खानेपानीको अभाव छ। भोट माग्न आउनुअघि घर–घरमा पानी चाहिन्छ,’ उनी भन्छन्, ‘भ्रष्टलाई भोट हालिँदैन। चुनावमा भोट चाहिए खानेपानी ल्याइदिनू।’

प्रकाशित मिति: : 2022-03-28 06:07:00

प्रतिकृया दिनुहोस्