'फस्ट' हुन खोज्दा 'फ्याक्ट' नै हरायो !

'फस्ट' हुन खोज्दा 'फ्याक्ट' नै हरायो ! एक प्रतिकात्मक तस्बिर ।

केही दिन अघि बेलायतमा एउटा लरीमा ३९ जनाको लाश वरामद गरियो ।

मानव तस्करले उनीहरूलाई लरीमा रेफ्रिजरेटर बनाएर बेलायत लैजादै थिए । तर, ती लगिएका भनिएका मानिस बेलायत पुगेनन्, उनीहरूको लाश मात्रै पुग्यो ।

यो समाचारले मानवीय कोणबाट उच्च महत्व पायो । यो घटनालाई लिएर अनेक प्रश्न गरिए । तैपनि मुख्य प्रश्न दुईवटा थिए, 

पहिलो,  मानिसले बेलायत सपनाका लागि केसम्म गर्दोरहेछ ?

दोस्रो,  मानव तस्करले पैसाका लागि केसम्म गर्दा रहेछन् ?

यी प्रश्नहरूसँगै ती लाश बनेका मानिसको राष्ट्रियता पनि ठूलै समाचार बन्यो ।  

धेरै समाचारमा आयो, उनीहरू चिनियाँ थिए । 

उनीहरूको राष्ट्रियता चिनियाँ भनेपछि मानवअधिकारसँग जोडेर चीनको हुनसम्मको हुर्मत लिइयो । भनियो, कम्युनिष्ट देश छोड्न मानिसले यत्रो जोखिम उठाइरहेका छन् । 

समय वित्दै जाँदा ३९ मध्ये दुईजना भियतनामी हुन सक्ने भनियो र पछि भियतनामी नै भन्न थालियो ।

केही मिडियाको पपुलिष्ट हुने लोभ र त्यही लोभलाई सही ठान्ने सामाजिक प्रवृतिका कारण अरू पनि त्यही दिशामा तानिन बाध्य भएका छन् । 

तर, परिणाम त यस्तो निस्क्यो कि ती सबै भियतनामी रहेछन् ।

यसले तीनवटा गम्भीर प्रश्न उठायो । 

पहिलो, आजका सञ्चार माध्यमले फस्ट हुन खोज्दा फ्याक्ट नै हराइरहेका छन् । र, उनीहरू जनतालाई सुसूचित हैन, भ्रमित बनाइरहेका छन् ।  यो जनताको सही सूचना पाउँने मौलिक अधिकार माथिको हनन हो ।

दोस्रो, सञ्चार माध्यममा सेकेण्डरी सूचनामा भर पर्ने जन्ती-पत्रकारिताको अहम् मूल्य आज समाजले तिर्नु परिरहेको छ । अर्थात् कपी पेस्ट पत्रकारिताका कारण गलत समाचार सर्वव्यापि हुने स्थिति सिर्जना भएको छ । एउटा झुट सयचोटि दोहोर्याएपछि सही हुन्छ भन्ने गोयबल्स शैलीको नयाँ अवतार नै मिल्यो भने पनि हुन्छ ।

तेस्रो, खासगरी डिजिटल मिडियामा अलेक्साको, सामाजिक सञ्जालमा भाइरलको, युट्युबमा सब्सक्राइवरको र टेलिभिजनमा टीआरपीको लोभले गर्दा जे पायो त्यही समाचार बनाउने महामारी नै फैलिएको छ ।जसरी पनि चर्चित हुने र पैसा कमाउने लोभको भाँडो उभिण्डो भएको छ । त्यसैको परिणाम समाजमा गलत कुरा गन्ध जसरी फैलिरहेको छ ।

विश्वका ठूला ब्राण्डका सुविधासम्पन्न व्यावसायिक मिडियाको हालत त त्यस्तो छ भने अपवादलाई छोडेर नेपाली मिडियाको त कुरै नगरे पनि हुन्छ । हाम्रो मिडिया सेकेण्डरी स्रोतकै भरमा चलेको छ भने पनि हुन्छ । स्रोतको अभाव भोगिरहेको मिडियामा यसो हुनु अस्वभाविक हैन । तर, पछिल्लो समय नक्कल पनि अक्कल बिनाको भैरहेको छ । यसले हामीलाई अरू गम्भीर समस्यामा पार्दैलगेको छ । 

केही मिडियाको पपुलिष्ट हुने लोभ र त्यही लोभलाई सही ठान्ने सामाजिक प्रवृतिका कारण अरू पनि त्यही दिशामा तानिन बाध्य भएका छन् । 

प्रकाशित मिति: : 2019-11-02 04:51:04

प्रतिकृया दिनुहोस्