अस्ट्रेलियामा शेष र जमुनाका नाममा विश्वविद्यालयद्वारा एसजी एन्ड जेजी स्कलरसिप स्थापना

शेष घले तथा जमुना घले उनीहरूकै नाममा स्थापित 'एसजी एन्ड जेजी स्कलरसिप' विजेता छात्राहरूका साथमा। तस्विर सौजन्य: फेडयुनी फाउन्डेसन

अष्ट्रेलियामा एनआरएनका निबर्तमान अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेको नाममा 'शेष घले तथा जमुना घले छात्रवृति' (एसजी एन्ड जेजी स्कलरसिप) स्थापना गरिएको छ। यो छात्रवृति घले दम्पति आफैंले स्थापना नगरेर उनीहरूका नाममा फेडरेसन युनिभर्सिटी अस्ट्रेलियाअन्तर्गतको फेडयुनी फाउन्डेसनले स्थापना गरेको हो। 

छात्रवृति स्थापनाको घोषणा गरेलगत्तै पहिलो पटक यो छात्रवृति तीन देशका छात्राहरूलाई प्रदान गरिएको छ। छात्रवृति पाउँनेमा एक नेपाली छात्रा शर्मिला खनाल पनि रहेकी छन्। उनी एमआईटी सिड्नीकी छात्रा हुन्।

यसैगरी एसजी एन्ड जेजी छात्रवृति पाउँने अन्य दुई छात्रामा एमआईटी मेलबर्नमा अध्ययनरत् भारतीय छात्रा कविता शर्मा र फेडरेसन युनिभर्सिटी बालाराटकी अस्ट्रेलियन छात्रा कायला थ्रोनिक्रफ्ट रहेका छन्। उनीहरू प्रत्येकलाई छात्रवृतिवापत् सातहजार अमेरिकी डलर प्रदान गरिएको छ।

शेष घले र जमुना घलेले सन् २०१६ देखि नै फेडरेसन युनिभर्सिटी अस्ट्रेलियाअन्तर्गतको फेडयुनी फाउन्डेसनलाई नियमित रूपमा च्यारिटी गर्दै आएका छन्।फाउन्डेसनका सम्मानित दाता भएकाले उनीहरूको सम्मानमा छात्रवृति स्थापना गरिएको फाउन्डेसनले जनाएको छ। 

आफूहरूको नाममा युनिभर्सिटीको फाउण्डेसनले छात्रवृति स्थापना गरिदिएकोमा खुशी लागेको एनआरएनका निवर्तमान अध्यक्ष घलेले बताए। उनले अगाडि भने- 'त्यसमा पनि नेपालकी एक छात्रासहित तीन भिन्न देशका प्रतिभाशाली छात्रालाई छात्रवृति प्रदान गरिएकोमा थप खुशी लागेको छ।' 

 

 

 

प्रकाशित मिति: : 2019-05-20 11:28:42

प्रतिकृया दिनुहोस्