सिड्नीमा छुकछुके हैन चालकविहिन मेट्रो रेल

अष्ट्रेलियाको बहुसांस्कृतिक सहर सिड्नीबासीले चालकविहीन रेलसेवाको अद्भूत अनुभव गर्न थालेका छन्। 

आइतबार विहान न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले औपचारिक रुपमा चालकविहिन रेलसेवाको सुरूवात गरेपछि उनीहरूले यो अनुभव गर्न पाएका हुन्। 

आफैं रेल चढेर उद्घाटन गरेकी प्रिमियर बेरेजिक्लिनले भनिन्-'यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको छ।'

उद्घाटनको दिन नि:शुल्क सेवा दिइरहेको यो रेलको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो। नेपालीहरूको बाक्लो उपस्थिति रहेको सिड्नीमा उनीहरू पनि यसको अनुभव लिन पुगेका थिए।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने यो रेलले सिड्नीका उत्तरपश्चिमका १३ स्थानलाई जोड्छ। हरेक चार मिनेटमा तोकिएको स्टेसनमा आइपुग्ने यो रेलले आफ्नो गन्तव्यमा पुग्न करिब ४० मिनेट समय लगाउँछ।

यो मेट्रो सेवाबाट सिड्नीको उत्तरपश्चिम क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय पनि खुशी भएको छ। बेलाभिष्टा स्टेसन आसापास बस्ने नेपाली सामाजिक अभियन्ता रमेश पाण्डे यो मेट्रो सञ्चालनले सिड्नीको केन्द्रसम्मको आवतजावत सहज भएको बताउँछन। यही क्षेत्रमा बसोबास गर्न नेपाली इञ्जिनियर डा विनोद श्रेष्ठ पनि खुशी देखिए। ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै उनले भने- 'मेरो छोरालाई हरेक दिन डेढ घण्टा लाग्थ्यो, अब ऊ ३५ मिनेटमै गन्तव्यमा पुग्छ। यसबाट मेरो परिवारमा खुशी छाएको छ।'

सिड्नी ट्रेनमा कार्यरत इञ्जिनियर अनन्त कार्की पनि निकै खुशी छन्।उनी भन्छन्- सिड्नीको व्यस्त जीवनमा समय म्यानेजमेन्ट गर्न यसले ठुलो सहयोग पुर्याउँछ।'

 

एउटा आकाशे पुल पनि भएको यो मेट्रो मार्गमा झन्डै १७ किलोमिटर लामो सुरुङ मार्ग रहेको छ।यो मेट्रो मार्ग बनाउँन करिब ७.३ विलियन डलर खर्च लागेको बताइएको छ।

 

प्रकाशित मिति: : 2019-05-26 10:52:24

प्रतिकृया दिनुहोस्