नेप्लिज-अस्ट्रेलियन बिलिनियर घले दम्पतिको छलाङ्, भए अस्ट्रेलियाकै ७८औं धनी

अस्ट्रेलियन धनीको रोल नम्बर ७८.... शेष घले-जमुना घले । तस्बिर: बीएल फाइल।

अस्ट्रेलियाका पहिलो नेपालीमूलका बिलिनियर शेष घले-जमुना घले दम्पति अस्ट्रेलियाको ७८औं धनीमा सूचीकृत भएका छन्। यसअघि ८५औं साथमा रहेका उनीहरू सात स्थानमाथि उक्लेर ७८औं स्थानमा पुगेका हुन्। अहिले उनीहरूको सम्पति १.१८ बिलियन डलर रहेको जनाइएको छ।

पछिल्लो सूची अस्ट्रेलियाको व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले शुक्रबार साँझ प्रकाशित गरेको हो। यसअघि मार्चमा द अस्ट्रेलियनले सार्वजनिक गरेको धनाढ्यको सूचीमा उनीहरू १.१ बिलियन डलरसहित ८५औं स्थानमा सूचीकृत थिए।

नेपालको गोरखाको एक सामान्य परिवारमा जन्मिएका शेष घले दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया प्रवेश गरेका थिए।अस्ट्रेलियामा अरू आप्रवासीले जस्तै मेलबर्नलाई कार्यक्षेत्र बनाएर सामान्य जीवनबाट सुरू गरेका घलेले सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हाले। त्यसयता भने उनले पछाडि फर्केर हेर्नुपरेको छैन।घले दम्पतिलाई सन् २००९ मा पहिलोपटक बीआरडब्लू पत्रिकाले अस्ट्रेलियाली धनाढ्यको सूचीमा पारेको थियो। त्यसयता हरेकका सूचीमा पर्दै आएको यो दम्पतिले सम्पति थप्दै रोलनम्बरमा पनि ठुलो फड्को मार्दै आएको छ। 

अहिले घले दम्पति घरजग्गा, होटल, शिक्षा लगायतका विभिन्न क्षेत्रमा संलग्न रहदै आएको छ। सुरूमा धनीका रूपममा मात्र सिमीत शेष घले गैरआवासीय नेपाली संघको दुई कार्यकाले अध्यक्ष भएपछि उनको चर्चाको आयाम अरू बिस्तृत भएको हो। 

धनाढ्यको सूचीमा आएको छलाङलाई शेष घलेले जिम्मेवारीका रूपमा लिएको बताए।यसले अरूमाथि जान थप मेहेनत, क्रियाशिलताको अपेक्षा गर्छ।हामीले यसलाई अवसर र चुनौतिका रूपमा लिएका छौ, अस्ट्रेलियाको ७८औं धनी भएपछिको संक्षिप्त प्रतिक्रियामा घलेले भने।

आफूले नेपाली कर्मशील, मेहेनती र पराक्रमी पनि हुन्छन् भन्ने पुष्टी गरेर सानो गोरेटो बनाएको बताउँदै घलेले भने- 'अस्ट्रेलियामा रहेका नेपालीमूलका दाजुभाई दिदीबहिनीले योभन्दा पनि ठूलो सफलताको राजमार्ग बनाउन सक्नुहुन्छ।'  

प्रकाशित मिति: : 2019-06-02 02:47:44

प्रतिकृया दिनुहोस्