अस्ट्रेलियाको सरकारी सूचना नेपाली भाषामै

तस्बिरः बिएल

सिड्नी । नेपाली भाषीको बढ्दो प्रभावलाई मध्यनजर राख्दै अस्ट्रेलियन सरकारले महत्वपूर्ण कामकाजी सूचना नेपाली भाषामा पनि ल्याउन थालेको छ।

यसै सन्दर्भमा अस्ट्रेलियन सरकार अन्तर्गत फेयर वर्कसले कामको सुरक्षा, न्यूनतम पारिश्रमिक, सेवा तथा सुविधालगायतका महत्वपूर्ण सूचनालाई आफ्नो आधिकारीक वेभसाइटमा नेपाली भाषामा राखेको छ।

अस्ट्रेलियामा नयाँ आउने विद्यार्थी र नेपाली मुलका अस्ट्रेलियनलाई लक्षित गर्दै सरकारी सूचनाहरू नेपाली भाषामा राखेको हो।

यतिखेर अस्ट्रेलियामा करिब पचास हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि आएका छन्। यस्तै करिब एक लाख तीस हजारको हाराहारीमा नेपालीहरू अस्ट्रेलियाका बिभिन्न स्थानमा बसोबास गरिरहेका छन्।

आप्रवासी कामदार वा भिसा भएकाहरू सबैलाई अस्ट्रेलियामा एउटै कार्यस्थलमा एकै खाले अधिकार रहन्छ। यदी अधिकार प्राप्ती नभएमा सम्वन्धित निकायमा उजूरिका लागि जान सकिनेछ।

यसै बिषयमा रहेर 'फेयर वर्क्स'ले आवश्यक महत्वपूर्ण कानुनी प्रावधानहरु नेपाली भाषामा समेत प्रकाशित गरेको हो। जसमा तलब, न्यायसंगत कार्य जानकारी विवरण, बिदा तथा कामबाट छुट्टी, रोजगारी अन्त्य, जस्ता सहयोग चाहिएमा उपयुक्त शिर्षकमा आवश्यक सबै जानकारी समेटिएका छन्।

अस्ट्रेलियामा कामदारहरूलाई सम्वन्धित निकायले भुक्तानी गर्नुपर्ने न्यूनतम तलब तोकिएको छ। निर्देशिका अनुसार कुनै कामदार २१ वर्ष वा सो भन्दा बढी छ उसले कम्तीमा १८.९३ डलर प्रतिघण्टा र तलबी बिदा नपाउनेले २३.६६ डलर प्रतिघण्टा पाउनुपर्छ। यदि त्यसो नभएमा वा कम रेटमा काम लगाइएको पाइएमा रोजगारदाताले कानुनी कारबाही भोग्नुपर्ने हुन्छ।

यो सूचना सँगै नेपाली भाषामा एउटा भिडियो समेत बनाइएको छ। जुन यहाँ बस्ने र नयाँ आउने नेपालीहरुका लागि महत्वपूर्ण हुन्छ।

प्रकाशित मिति: : 2019-06-19 22:52:06

प्रतिकृया दिनुहोस्