राष्ट्रसंघमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली भाषामै सम्बोधन

तस्वीर : संयुक्त राष्ट्र संद्दका लागि नेपालको स्थायी नियोग

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका भ्रमणको दोस्रो दिन संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ‘आज हुने शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गरेर सुरू गरेकी छिन् ।

नेपाली भाषामै सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला अहिले जुन अवस्थामा छन् त्यो प्राकृतिक हैन, मानिसले नै बनाएको भन्दै यसलाई चिर्नुपर्ने बताइन्। उनले महिलाको संसार चुनौतीविहीन नभएको बताउँदै यसलाई परिवर्तन गर्न महिला नै लाग्नुपर्नेमा जोड दिइन्। 

गरिबी, अशिक्षा, सामाजिक पछौटेपनलाई चुनौतिको रूपमा अघि रहेको बताउँदै विद्यमान राष्ट्रपति भण्डारीले भनिन्, ‘चुनौती भए पनि प्राप्त उपलब्धि दिगो बनाउन संविधान र कानुनले प्रत्याभूत गर्न अति जरुरी छ।’

यसैगरी राष्ट्रपति भण्डारी ‘महिला नेतृत्वले कसरी विश्वमा परिवर्तन ल्याउन सक्छ?' भन्ने शीर्षकमा आयोजित राउण्ट टेबलमा सहभागी भइन् । उनले नेपालमा हालै भएका निर्वाचनहरुबाट ४० प्रतिशत महिला निर्वाचित भएको भन्दै नेपालमा नेतृत्वमा महिला सहभागिता विश्वकै लागि नमुना भएको बताइन् ।

उनले उपचार गर्न नपाई ३२ ३३ वर्षकै उमेरमा बुबाको निधन भएको घटनाबाट प्रेरित भएर आफू राजनीतिमा आएको सुनाइन् ।उनले आममानिस र महिलाका लागि काम गर्न कहिल्यै नथाक्ने पनि बताइन् ।

राउण्ड टेबल चल्दै गर्दा नै राष्ट्रपति भण्डारी राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरससँग शिष्टाचार भेटवार्ता गर्न निस्किएकी थिइन्। भेटवार्तामा

यसैबीच राष्ट्रपति भण्डारीले ७३औं महासभाकी अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेससँग पनि शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

आजै उनी केही साइडलाइन वार्ताहरूमा सहभागी हुने कार्यक्रम पनि रहेको छ। उनले आज इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् भने आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी अमेरिका भ्रमणका सबै औपचारिक कार्यक्रमहरू मंगलबार नै सकिने छन् । बुधबार उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगको निरीक्षण भ्रमण र अमेरिकामा रहेका नेपाली नियोगका प्रमुखहरूले उनको सम्मानमा दिने संयुक्त भोेजमा सहभागी हुने छिन् ।

राष्ट्रपति भण्डारी विहीबार विहान नेपाल फर्कने कार्यक्रम रहेको छ। उनी राष्ट्र संघकी ७३औं महासभाकी अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसको निमन्त्रणामा सोमबार न्युयोर्क आइपुगेकी थिइन्। नेपाली प्रमण्डलको नेतृत्व गर्दै आएकी उनीसँग २२ सदस्यीय जम्बो प्रतिनिधिमण्डल रहेको छ। 

प्रकाशित मिति: : 2019-03-13 02:45:05

प्रतिकृया दिनुहोस्