एनआरएन अमेरिकाको इलेक्ट्रोनिक मतदान सुरू

अमेरिकाका नेपालीका सामाजिक सञ्जाल एनआरएनमय छन्। तस्वीर: फेसबुक/ लेआउट: बीएल

एनआरएन अमेरिकाको २०१९-२१ कार्यकालका लागि इलेक्ट्रोनिक भोटिङ सुरू भएको छ। अमेरिकी पूर्वी समयअनुसार मे १८ शनिबार विहान ८ बजेबाट सुरू भएको मतदानमा सहभागी मतदाताको फेसबुक स्टाटसमा मतदान गरेका प्रमाण सार्वजनिक हुन थालेका छन्। 

सदस्यता प्रमाणिकरण नभएका २०९३ को सदस्यतालगायतका केही प्रश्नहरू बाँकि रहे पनि अन्तत: अपवादलाई छोडेर सबै सदस्यहरू मतदानका लागि मानसिक रूपमा तयार भए जस्तो देखिन्छ।

यतिबेलै अमेरिकाको नेपाली डायस्पोरामा सार्वजनिक महत्व लिएका व्यक्ति र संस्थाहरू मतदानका लागि आव्हान गरिरहेका छन्। उनीहरू पनि अझै धेरै गर्न बाँकि रहेको बताउँदै संस्थामै सहभागी भएर भएका राम्रालाई जोगाउँदै थप राम्रो गर्न आव्हान गरिरहेका छन्। 

उता, एनआरएनको शुद्धिकरणका लागि आवाज उठाइरहेको पक्ष भने सदस्यता प्रमाणिकरण नभएका २०९३ लाई अर्जुनदृष्टि बनाएर त्यसैका आधारमा एनआरएनमा जालझेल विद्यमान रहेको बताइरहेका छन्। अझै पनि उनीहरू मौजुदा अवस्थाको एनआरएनको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। 

एनआरएन अमेरिकामा दुई पूरै प्यानल र बाँकि मन मिलेकाहरूको सानो प्यानलका साथ राष्ट्रिय संयोजन समितिका विभिन्न पदका लागि उम्मेद्वारहरू चुनावी मैदानमा छन्। च्याप्टरमा भने करिव ४२ प्रतिशत सिटमा उम्मेद्वारी नै नपरेको अवस्था छ। 

चुनावमा सुनील साहले नेतृत्व गरेको नेपालमा नेपाली कांग्रेस माउपार्टी रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापन पक्षको पूरै प्यानल रहेको छ भने त्यही राजनीतिक पृष्ठभूमि भएका केही बढी उम्मेद्वारहरू सूर्य (साल) लम्सालको नेतृत्वमा विद्रोही उम्मेद्वारका रूपमा चुनावी मैदानमा छन्।अर्कोतर्फ नेपालमा नेकपा माउपार्टी भएको प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष सञ्जय थापाको वामपन्थी प्यानल प्रतिस्पर्धामा छ।चुनाव साह र थापाबिच नै हुने देखिएको छ भने वामपन्थी हुन नसकेका, कांग्रेसको संस्थापनमा पनि नभएका र एनआरएनलाई राजनीतिक पार्टीको छायाँबाट मुक्ति चाहनेहरू पनि लम्साललाई मत दिने पक्षमा देखिएका छन्। तर, यो मत निर्णायकजस्तो देखिएको छैन। 

मतदान अमेरिकी पूर्वीसमयअनुसार मे १९ आइतबारको मध्यराति ११ बजेर ५९ मिनेटसम्म गर्न पाइने भएको छ। त्यसका लागि मतदाताहरूको इमेलमा निर्वाचन समितिले इलेक्ट्रिनिक मतदानको लिंक र मतदान गर्ने तरिका पठाइसकेको बताइएको छ। 

प्रकाशित मिति: : 2019-05-18 23:43:42

प्रतिकृया दिनुहोस्