विश्वकप फुटबल :

मेस्सीले मिस गरे पेनाल्टी तैपनि अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना उत्कृष्ट खेल प्रस्तुत गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समुह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले पराजित गर्दै समुह बिजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

पराजित भए पनि पोल्याण्ड उपविजेताका रुपमा अन्तिम १६ मा पुग्यो ।

विश्वका दुई महान खेलाडी मेसीले अर्जेन्टिना र लेण्डोवेस्कीले पोल्याण्डको कप्तानी गरिरहेको खेललाई यी दुई महान खेलाडीबीच प्रतिष्ठा खेलको रूपमा हेरिएको थियो ।

दुबै महान खेलाडीले गोल गर्न नसके पनि मेस्सी खेलमा छाइरहे । उनले गरेका सात प्रहार पोलिस किपरले बिफल बनाइ दिएका थिए । तर, लेण्डोवेस्की भने मैदानमा थिए कि थिएनन् भन्ने पनि दर्शकहरूले खासै थाहापाएनन् ।

अर्जेन्टिनाले दुबै गोल हाफ टाइम पछि गरेको थियो । ४६औं मिनेटमा माक एलिस्टरले गोल गरेका थिए भने ६७ औं मिनेटमा अल्भारेजले दोस्रो गोल गरे । 

३९औं मिनेटमा पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् । यसरी दर्शकलाई निराश पारे पनि उनले उत्कृष्ट खेल खेलेर त्यसको भर्पाइ गरिदिए ।

खेल लगभग अर्जेन्टिनाको पक्षमा एकतर्फि रह्यो । 

 प्रिक्वार्टर फाइनलमा अर्जेन्टिनाले शनिबार अपरान्ह २ बजे अस्ट्रलियासँग खेल्नेछ भने पोल्याण्डले आइतबार १ बजे फ्रान्ससँग खेल्ने छ । 

प्रकाशित मिति: : 2022-12-01 02:49:00

प्रतिकृया दिनुहोस्