एनआरएन अमेरिकामा 'नेपाली कांग्रेस'का उम्मेद्वार सुनील साह विजयी

सन् २०१९ २१ कार्यकालका लागि भएको एनआरएन अमेरिकाको चुनावमा पूर्बानुमानअनुसार नै संस्थापन पक्षका सुनील शाहले नेतृत्व गरेको प्यानलले प्राय: सबै महत्वपूर्ण पद जितेको समाचार बाहिरिएको छ।

केही समयअघि इलेक्ट्रोनिक मतदानका आधारमा भएको निर्वाचनको मत परिणाम अनौपचारिक स्रोतको हवाला दिदै सार्वजनिक भएको हो। निर्वाचन समितिले पुष्टि गरिनसके पनि अध्यक्षमा सुनील साह ३५७६ मत प्राप्त गरी विजयी भएको समाचार बाहिरिएको छ।

निर्वाचन समितिका एक सदस्यले यसको अनौपचारिक रूपमा पुष्टि गरे। उनका अनुसार अध्यक्षका अर्का प्रत्यासी सूर्य (साल) लम्सालले १९५२ मत प्राप्त गरे भने सञ्जय थापाले १८०८ मत प्राप्त गरेका छन्। कुल ७३५७ मत खसेकोमा २१ मत भने नो भोटमा परेको बताइएको छ। 

यसैगरी साह प्यानलकै डा. अर्जुन बञ्जाडे वरिष्ठ उपाध्यक्षमा पशुपति पाण्डे महासचिवमा बिजयी भएका छन् । 

केही पदमा साहको प्यानल बाहिरका उम्मेद्वार पनि बिजयी भएको बताइएको छ। तर, उनीहरू कुन कुन पदमा कति संख्यामा विजयी भएका छन् त्यसको जानकारी भने बाहिरिएको छैन।

साहले नेपालका नेपाली कांग्रेसलाई माउपार्टी मान्नेहरूको प्यानल नै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए। उनको प्यानललाई अमेरिकामा रहेको नेपाली कांग्रेसको भगिनी संस्था नेपाली जनसम्पक समिति अमेरिकाले आधिकारिक प्यानलको रूपमा घोषणा गरेको थियो। सूर्य लम्साल विचारले नेपाली कांग्रेस नजिक मानिए पनि उनलाई कांग्रेसले मान्यता दिएको थिएन र उनी एक किसिमले वागी उम्मेद्वार जस्ता देखिएका थिए। सञ्जय थापा भने नेपालको सत्तारूढ दल नेकपाको प्रवास भातृसंस्था प्रवासी नेपाली मञ्च अमेरिकाका निबर्तमान अध्यक्ष हुन्। उनले पनि नेपालमा नेकपालाई माउ पार्टी मान्नेहरूको प्यानल नै बनाएका थिए।

प्रकाशित मिति: : 2019-05-20 12:03:14

प्रतिकृया दिनुहोस्