अमेरिकी राष्ट्रपतिद्वारा डेमोक्रेट्ससँग सहकार्य नगर्ने घोषणा: महाअभियोग लगाउँन पेलोसीमाथि दबाब

ट्रम्प र पेलोसी ३६ को पोजिसनमा: अब के हुन्छ ? तस्विर : एपी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प डेमोक्रेटिक नेतृत्व पेलोसी-सुमरबीच बुधबार विहान ह्वाइट हाउसमा भएको बैठक पाँच मिनेट पनि टिक्न नसकेको समाचार बाहिरिएको छ।अमेरिकी मूलधारका समाचार संस्थाहरूका अनुसार अमेरिकाको आधारभूत निर्माणका बारेमा छलफल गर्न गएका पेलोसी र सुमरले विषय उठान गर्न नपाउँदै राष्ट्रपति ट्रम्पले भने- 'यदि ममाथिको अनुसन्धान जारी राखिरहने हो भने म डेमोक्रेटसँग काम गर्न सक्दिन।'

यति भनेर राष्ट्रपति ट्रम्प उनको ओभल अफिसबाट बाहिरिएपछि पेलोसी-सुमर क्यापिटल हिलतिर फर्किए। केही समयपछि राष्ट्रपति ट्रम्पले रोज गार्डेनमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने- 'म्युलर प्रतिवेदनले आफूलाई क्लिन चिट दिइसकेपछि पनि ममाथिको अनुसन्धान जारी छ। यस्तो अवस्थामा म कसरी ममाथि अनुसन्धान गर्नेसँग काम गर्न सक्छु र ?'

उनले डेमोक्रेट्स र मिडिया अमेरिकाको भलो नचाहने भन्ने सदावहार आरोप पनि लगाए। 

उता, संसद पुगेर पेलोसी सुमरले पनि पत्रकारलाई सम्वोधन गरे। पेलोसीले भनिन्- 'आजको राष्ट्रपति व्यवहार अचम्मित पार्ने खालको थियो तर पनि त्यो मेरो लागि अनपेक्षित चाँहि थिएन। उनले अगाडि भनिन्- हामी अमेरिकाको पुनर्निमाणको योजना लिएर गएका थियौ तर उनलाई त्यसमा वास्ता नै नभएको यसले पुष्टि गर्यो।'

सिनेटमा माइनोरिटी लिडर चक सुमरले भने- 'राष्ट्रपति ट्रम्पले योजनावद्ध ढंगले आज ओभलमा जे प्रदर्शन गरे, त्यो दु:खदायी हो। अमेरिकी जनताले चुनेको हाउसँग काम नै गर्दिन भन्नु अमेरिकी जनताको अपमान हो।'

यसैबीच आजको घटना अमेरिकी राजनीति त्यसमा पनि खासगरी राष्ट्रपति ट्रम्पका लागि टर्निङ पोइन्ट हुन सक्ने राजनीतिक विश्लेषण सुरू भएको छ। उनीहरूको विश्लेषणअनुसार राष्ट्रपतिविरूद्ध महाअभियोगका लागि पेलोसीमाथि थप दबाब पर्नेछ। अहिले नै धेरै डेमोक्रेटहरू पेलोसीले महाअभियोग प्रक्रियालाई सहजीकरण नगरेको भनेर रूष्ट छन्। भरिशक्य उनी त्यो बाटो नहिडी सन् २०२० को राष्ट्रपति चुनावबाटै ट्रम्पलाई किनारा लगाउने पक्षमा छिन्। तर, अब राष्ट्रपति ट्रम्पले संसदसँग सहकार्य नै नगर्ने भनेपछि उनका लागि पनि दोस्रो विकल्प देखिदैन।

 

प्रकाशित मिति: : 2019-05-23 03:15:30

प्रतिकृया दिनुहोस्