घरदेशको राजधानीमा श्रृंखलावद्ध बम बिस्फोट : परदेशको अमेरिकामा चासो र चिन्ता

घरदेशमा बम पड्कदा परदेशमा पनि पीडा त हुन्छ नै- एक प्रतिकात्मक तस्बिर।

नेपालको राजधानी काठमाडौैंमा श्रृंखलावद्ध बम विस्फोट भैरहेको बेला अमेरिकाको नेपाली डायस्पोरा भने मस्तसँग सुतिरहेका थियो। मेमोरियल डे सहितको तीनदिने सप्ताहान्तमा अमेरिकामा नेपालीका अनेकौ रंगिचंगी कार्यक्रमहरू आयोजना भैरहेका थिए।शनिबार रातको लामो ह्याङओभरले विहान उठ्न मन लागिरहेको थिएन। तर, उठ्नेबित्तिकै यदि उनीहरूले स्मार्टफोनमा फेसबुक चेक गरे भने उनीहरूले पहिलो समाचार पाए- काठमाडोैंमा श्रृंखलावद्ध वम बिस्फोट, चारको मृत्यु आठ गम्भीर घाइते। 

त्यसपछि भने घरदेशमा मच्चिएको बम आतंकले परदेशमा रहेका नेपालीमा पनि स्वभाविक चासो र चिन्ता बढाइ दियो। त्यो चासो र चिन्ता व्यक्त गर्ने नेपाली डायस्पोरामा अमेरिका अगाडि पाइएको छ। यद्यपि, न्युयोर्कमा आयोजित चौथो युएनए सम्मेलनको अन्तिम दिन नाच्ने कार्यक्रम रोकिने भाे कुरै भएन।

अमेरिकामा रहेका अगुवा नेपालीका सामाजिक सञ्जाल हुन् या यहाँबाट अपलोड गरिने अनलाइन प्रायश: सबैमा नेपालकै बम आंतंकको खबर र चर्चा पाइन्छ। यो परिघटनालाई कसैले पनि सकारात्मक रूपम ालिएका छैनन्, सबैले रोश र घृणा नै प्रकट गरेका छन्। 

अमेरिकाको पूर्वीतटीय राज्य पेन्सेल्भेनियाको राजधानी ह्यारिसबर्गमा रहेकी सञ्चारकर्मी सच्ची मैनाली घरदेशबाट आएको यो अप्रिय खबरले स्तव्ध भएको बताउँछिन्। उनी बम पड्काउनेहरूलाई सोध्छिन्- तपाईंहरूको सर्वसाधारण मार्ने त्यही बम भ्रष्टाचार गरेर देशलाई खोक्रो बनाउने र देश बेच्न तत्पर दलालहरूको टाउकोमा आजसम्म किन पड्किएन र पड्किदैंन ? किन ? उनलाई देशबाट सकारात्मकभन्दा बढी नकारात्मक नै खबर सुन्नुपर्दा यसै पनि पीडा हुन्छ। त्यसमाथि पनि राजधानीमै बम आतंक मच्चिएको खबरले पीडा मात्र हैन, रोश पनि पैदा हुन्छ। 

अमेरिकाको टेक्सासमा रहेका पत्रकार रामचन्द्र भट्टलाई यो घटना सुन्ने बित्तिकै 'अपसेट' भए।आफ्नो मातृभूमिबाट राम्रोभन्दा बढी नराम्रो खबर नै सुन्नुपर्दा यसै पनि दु:ख लाग्छ उनलाई। त्यसमा पनि बम पड्काएर मानिसको ज्यान नै लिएको घटनाको त जति नै निन्दा गरे पनि कम लाग्छ उनलाई। घटनालाई दु:खद र खेदजनक बताउँदै उनी भन्छन्- 'जबजब राजनीतिक स्थायित्व भएर नेपालले गति लिन लागेको हुन्छ, यस्ता घटनाहरु सुरु हुन्छन्।' उनी यसलाई कुनै पनि अर्थमा बिद्रोह भन्न नसकिने बताउँदै भन्छन्- यो त जनताको नाम लिएर मच्चाइने आतंक हो।धनी हुने र सत्तामा पुगेर भ्रष्ट हुने लालशाले गरिएको कायरतापूर्ण क़दम हो।' उनी यस्ताको उपचार समयमै गरेर निमिट्यान्न पार्नुपर्छ भन्ने धारणा राख्छन्। 

वासिङ्टन डीसीमा रहेका सञ्चारकर्मी सुनील मणि दाहाल भने अलि फरक विचार राख्छन्।उनको विचारमा यो घटनाको निन्दा त गर्नैपर्छ। तर, भावनात्मक भएर यसको विरोध गरेर मात्र निकास निस्कदैन। उनको विचारमा आखिर किन नेपालमा पटक पटक हतियार उठाउनुपर्ने परिस्थिति सिर्जना भैरहेको छ।त्यसको सोसल इन्जिनियरिङलाई पनि ध्यानमा राख्नुपर्छ। दाहाल भन्छन्- नेपालका नेताहरूमा रहेको राजनितिक अदुरदर्शिता, आकासिदो जीवनशैली, बढदो भ्रष्टचार र ब्याप्त राजनितितिकरणका जनतामा नैराश्यता बढेको छ। जनताको त्यही वितृष्णा पुरानो माओवादी शैलीको क्रान्तिकारी विद्रोहको रूपमा प्रकट भएको हुनुपर्छ। 

कान्सास सिटीमा रहेका एक पीएचडी शोधार्थी समीर कटुवालको घर घट्टेकुलामै छ।यो समाचार फेसबुकमा देख्ने बित्तिकै आफ्ना नौ नारी गरेको बताउँदै कटुवाल भन्छन्- घरमा फोन गरें। आमाले डराउँदै भन्नुभयो यसपटक त बाँचियो कान्छा। भरे भेलि के हुन्छ भन्न सकिदैन। अब फेरि भेट नहुन पनि सक्छ।' आमाले त्यसो भनेर रूदै फोन राखेको बताउँदै कटुवालले भने- कसलाई मात्र के भन्ने ? सरकार नालायक, नेता नालायक, पार्टी नालायक भएको परिणाम हो यो। जसले पड्काए ती त कायर भैहाले तर यो पड्काउने वातावरण बनाउने पनि उत्तिकै दोषी छन्।' उनलाई लागेको छ- कतै सामाजिक न्याय भएको भए यस्तो हुदैनथ्यो कि ? 

अमेरिकाको न्युयोर्कमा रहेका विश्वबहादुर शाहले भने सांकेतिक रूपमा एउटा तस्बिर अपलोड गरेका छन् जसमा भनिएको छ।नेपाल जनप्रगतिशील मोर्चाको पोष्टरजस्तो देखिने त्यस तस्बिरमा लेखिएको छ- नेपालमा एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नु आजको आवश्यकता हो।एन्टी करेन्टमा आएको शाहको यो स्टाटसमा अमेरिकामै रहेका अग्रज पत्रकार हरि अधिकारीले लेखेका छन्- लौ शाहजी जनक्रान्तिवाला हुनु भएछ! बन्दूके लीगमा सामेल भएकोमा बधाइ चाहिँ दिन सकिनँ। जवाफमा शाहले लेखेका छन्- यसमा बधाइ नै लिनुपर्ने केही देख्दिन, यहाँको कमेन्टका लागि धन्यवाद..।

अमेरिकाको टेक्सास राज्यमा रहेका पत्रकार भोला आचार्य पनि यो घटना सुनेर स्तव्ध भए तर उनलाई खासै अचम्म भने लागेन।यसका लागि वातावरण तयार हुदै थियो, ढिलो चाँडो यस्तो हुनु त थियो नै। उनी भन्छन्- यस्तै घटनाहरूको एउटा कालखण्डमा १७ हजारको ज्यान गयो। सोही हिंसाका कारण धेरै मानिस अमेरिकालगायतका मुलुकमा विदेशिएका छन्।' अव फेरि पुरानै बाटोेमा देश जाने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनी अगाडि भन्छन्- हिंसालाई आधार वनाएर देख्ने सपना निर्माणात्मक हुदैन, ध्वशात्मक मात्र हुन्छ। कामना गरौं यसको सपना देख्ने मुहान नै बन्द होस्।'

अमेरिकाको प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजाका लागि यो घटना दु:खद र निन्दनीय हो। सम्पूर्ण नेपालीहरुले कुनै पनि वहानामा हिंशा अस्वीकार्य छ भन्ने प्रष्ट सन्देश दिनुपर्छ भन्ने आग्रह गर्दै उनी भन्छन्- विप्लव माओवादीको नाममा भएको निहत्था, निर्दोष र कम्जोरहरुलाई ताकेर बम पडकाउने, ज्यान लिने काम निन्दनीय र दुखद त छंदैछ त्योभन्दा ज्यादा चिन्ताजनक विषय चाहिं अहिले पनि नेपालमा हिंशा मच्चाउन चाहने, द्वन्द्धलाई निरन्तरता दिन चाहने र नेपाललाई अस्थिर बनाएर राख्न चाहनेहरुको खेल रोकिएको छैनl' उनले नेपाललाई अस्थिर, द्वन्द्धग्रस्त र कम्जोर पार्ने खेलको पहिचान गर्दै त्यस्तो खेललाई समयमा धुलिसात पार्न नेपाल आन्तरिक रुपमा एकतावद्ध रहनुपर्छ भनेका छन्।  

प्रकाशित मिति: : 2019-05-27 05:29:21

प्रतिकृया दिनुहोस्