क्लिन्टनको नियम लागु गर्दै ट्रम्प : अमेरिका आउँन स्पोन्सर पाउन मुस्किल

अमेरिका आउनेलाई स्पोन्सर पाउन मुस्किल । प्रतिकात्मक तस्बिर ।

अमेरिका आउन चाहनेका लागि अब स्पोन्सर पाउँन मुस्किल पर्ने भएको छ । २३ वर्षअघि राष्ट्रपति बिल क्लिन्टनले ल्याएको आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरबाट भराउने नियम राष्ट्पति ट्रम्पले लागू गर्ने तयारी गरेपछि यस्तो परिस्थिति सिर्जना हुने भएको हो । 

आप्रवासी विरोधी छवि बनाएका केन कुसिनेली युएससीआईएसका नवनियुक्त कार्यकारी निर्देशकमा नियुक्त भएलगत्तै सरकारले स्पोन्सरमा आएको व्यक्तिले फुडस्ट्याम्प, एएसआई, मेडिकेडलगायतका कुनै पनि सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाटै गराउने नियमलाई कडाइका साथ लागु गर्ने बताएका छन् । 

उनले यस दिशामा कदम चाल्दै अब युएससीआईएसका अधिकारीहरुले आप्रवासीको ग्रिनकार्ड अन्तर्वार्ता लिँदा नै अन्तर्वार्ता दिने व्यक्तिलाई स्पोन्सर गर्ने व्यक्तिको उत्तरदायित्वबारे जानकारी गराउने निर्णय गरेका छन् ।

उनको यो निर्णय गत मे २३ मा राष्ट्रपति डोनल्ड ट्रम्पले स्पोन्सरलाई कानुनी रूपमा उत्तरदायी बनाउन जारी गरेको मेमोलाई कार्यान्वयन गर्ने सिलसिलामा आएको हो ।

कार्यकारी निर्देशक कुसिनेलीले सरकारका सुविधाको उपयोग गर्नुको साटो आप्रवासीले उनीहरुका परिवार, स्पोन्सर र निजी संघ संस्था तथा आफैमा निर्भर हुने वातावरण बनाउनका लागि यस्तो गरिएको जनाका छन् । उनले सरकारी सुविधा खाने सम्भावना भएकालाई अमेरिका प्रवेशमा रोक लगाउन राष्ट्रपतिको निर्देशिकालाई प्रभावकारी रुपमा अगाडि बढाउने पनि जनाए ।  

राष्ट्रपतिको मेमोलाई पूर्णतया कार्यान्वयनका लागि केही महिनाभित्रै सरकारका अन्य निकायसँग समन्वय गरेर लागु गर्ने जनाइएको छ । 

यो नियम कडाइका साथ लागु भएपछि अमेरिका आउनेका लागि स्पोन्सर गर्नेहरू हच्किने अनुमान गरिएको छ । यसको अर्को पक्ष अब स्पोन्सरलाई नै व्यवसाय बनाउँदै आएकाले भने यसलाई आफ्नो भाउ बढाउने अवसरका रूपमा पनि उपयोग गर्न सक्नेछन् । 

प्रकाशित मिति: : 2019-06-16 01:01:45

प्रतिकृया दिनुहोस्