एनआरएनए यूएईमा चुनाव लाग्यो

अध्यक्षमा उम्मेदवारी दिएका शाही भन्छन्- सिनियरहरूले पनि मलाई समर्थन गर्नुहुन्छ

आउँदो जुलाई ३० मा हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको निर्वाचनमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।

नेतृत्वका लागि एनआरएनए यूएईका नेताहरूले एक्लाएक्लै अनि समूह बनाएर उम्मेदवारी घोषणा गर्न थालेका हुन्। निर्वाचनको मिति नजिकिएसँगै यूएईमा चुनावी चहलपहल बढ्न थालेको छ।

यूएईमा एनआरएनए नेपाली एसोसिएसनका नाममा दर्ता छ। आधिकारिक रुपमा एनसीसी यूएईका गतिविधि एसोसिएसनबाटै सञ्चालन हुँदै आएका छन्।

आगामी नेतृत्वका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा र उपाध्यक्ष विकास शाहीको नाम चर्चामा छ। दुवैजनाले सामाजिक सञ्जालबाट आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

शेर्पाले आगामी कार्यकालका लागि आफू स्वभाविक उम्मेदवार भएको दाबी गर्दै आएका छन्। ‘वरिष्ठ उपाध्यक्ष भइसकेको हुनाले अरु विकल्प पनि छैनन्। त्यसैले म अध्यक्षको स्वभाविक उम्मेदवार हुँ,’ शेर्पाले भने।

शाहीले भने एनसीसी यूएईको आगामी नेतृत्व सहमतिमा चयन हुने बताउँछन्। ‘धेरै जनाको भनाइ नेतृत्वमा विकासजी आउनुपर्छ भन्ने छ। हामी सहमतिको प्रयास गरिरहेका छौं। चुनाव हुँदैन भन्ने मेरो बुझाई हो,’ यूएई भम्रणमा रहेका पत्रकारसँग शाहीले भने।

यूएईका धेरैजसो संघसंस्था तथा दलका भात्रृ संगठनको समर्थन आफूलाई रहेको शाहीको दाबी छ। ‘बहुमत मेरो पक्षमा छ। चुनावी नतिजा मेरो पक्षमा आउँछ। म ढुक्क छु,’ शाही भन्छन्।

शाही आफू कसैसँग चुनाव लड्न नचाहेको बताउँछन्। ‘सकभर सहमतिमै नेतृत्व चयन गरौं भन्ने प्रयास हो। अब लड्नै पर्नै परिस्थिति आयो भने त म सबै किसिमले तयार नै छु।’

उनले आफूभन्दा सिनियर तथा सँगै काम गरेका सबैजनाले आफूलाई नै समर्थन अनि सहयोग गर्ने आशा पनि व्यक्त गरेका छन्।

‘पासाङ दाइसँग म प्रत्येक पटक मिलेर काम गरेको छु। दाइका हरेक गतिविधिमा मेरो साथ र समर्थन रहँदै आएको छ। दाइलाई त म अघिल्लो पटक नै तपाईं आउनुपर्छ भनेको थिएँ। तर, दाइ अघि बढ्नु भएन। यसपटक त पालो मेरै हो। बरु दाइले मलाई सहयोग गर्नुपर्छ। र, सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु।’

एनआरएनए अभियानमा शेर्पाको ठूलो योगदान रहेको बताउँदै आइसीसीमा जानुपर्ने सुझाव उनले दिए। ‘पासाङ दाइ एनआरएनए अभियानलाई चाहिले व्यक्ति हो। उहाँ यो अभियानबाट बाहिर रहेको म पनि हेर्न चाहँदिन,’ शाहीले भने, ‘दाइप्रति मेरो उच्च सम्मान छ। दाइलाई आइसीसीमा जाने वातावरण मिलाएर एनसीसीको नेतृत्व मैले गर्छु।’

सहमतिमा नेतृत्व चयन गर्न आफूले शेर्पासँग बसेर बृहत छलफल समेत गर्ने बताए। ‘दाइसँग म बसेर छलफल गर्छु। उम्मेदवारी घोषणा गर्दैमा केही बिग्रेको छैन,’ शाहीले भने, ‘मेरो आग्रह दाइले मान्नुहुन्न भन्ने मलाई लागेको छैन। दाइ र भाइ मिलेरै अघि बढ्छौँ। दाइले मलाई आइसीसीमा बसेर सहयोग गर्नुहुनेछ।’

प्रकाशित मिति: : 2023-07-08 14:53:00

प्रतिकृया दिनुहोस्