नेपाली चेली सन्तोषी 'हार्वर्ड हिरो - २०१९' घोषित

हार्वर्ड हिरो - २०१९ सन्तोषी बस्नेत । तस्बिर : एजेन्सी ।

नेपाली चेली सन्तोषी बस्नेत विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट हार्वर्ड हिरो २०१९ बाट सम्मानित भएकी छिन् । हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनको वित्त विभागमा कार्यरत उनी उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएकी हुन् । 

हार्वर्डले प्रत्येक वर्ष आफ्ना १८ हजार कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने केही कर्मचारीलाई यस्तो अवार्ड प्रदान गर्ने गर्छ । सन् २०१९ का लागि हार्वर्ड हिरो २०१९ जितेर उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली  भएकी  छिन् । 

काठमाडौं बत्तीसपुतली थातथलो भएकी सन्तोषी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन् । सन् २०१३ मा “जोन्सन एंड वेल्स विश्वविद्यालय“ रोडआइलैंडबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरी उनी हार्वर्ड  प्रवेश गरेकी थिइन् ।

शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्ने सन्तोषीको हार्वर्ड पढ्ने सपना पूरा नभएपनि त्यहाँ काम गर्न पाउँदा गर्वको महसुस भएको बताउँछिन् । अझ हार्वर्डकै एक उत्कृष्ट कर्मचारीका रूपमा हार्वर्ड हिरोबाट सम्मानित हुँदा थप खुशी भएको बताउँछिन् । उनी भन्छिन्- यो सम्मानबाट सम्पूर्ण नेपाली नै सम्मानित भएका हुन् । किनकि यसले नेपाली जाति पनि उत्कृष्टता हासिल गर्ने जातिका रूपमा स्थापित हुन सक्यो । त्यसका लागि म माध्यम हुनसकें । त्यसले मलाई असिम खुशी मिलेको छ ।'   

उनले यो उपलव्धी आफ्नो अमेरिका बसाईको १३ वर्षको संघर्ष र मेहेनतको परिणाम भएको बताउँदै अगाडि भनिन्- ‘बाहिरबाट हेर्दा र सुन्दा अमेरिका जस्तो देखिन्छ र सुनिन्छ यहाँ आएर भोग्नुपर्दा धेरै फरक छ । यहाँ टिक्नका लागि प्रतिभा, मेहेनत र धैर्यता सबै चाहिन्छ ।' 

 

प्रकाशित मिति: : 2019-06-25 03:46:30

प्रतिकृया दिनुहोस्